नवलपुर । नेकपा एमाले नवलपुरको नयाँ नेतृत्वका लागि ३ सय भन्दा धेरैले उम्मेदवारी दिएका छन् । यसअघि पदाधिकारीमा सर्वसम्मतको प्रयास भएको विभिन्न स्रोतबाट प्रचार भएपनि पदाधिकारीमा आवश्यक भन्दा धेरैले मनोनयन दर्ता गरेका छन् । जस अन्तर्गत अध्यक्ष एक पदका लागि जीवन श्रेष्ठ र होमनाथ जैसीको उम्मेदवारी परेको छ भने एक पद सचिवका लागि भीमलाल कंडेल र भूपेन्द्र खनालले उम्मेदवारी दिएका छन् ।
यस्तै, एक जना आवश्यक उपाध्यक्षमा यमुनाथ आचार्य, रोशन थापा र भोजबहादर चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।
दुई जना आवश्यक पर्ने उपसचिव पदमा प्रारम्भिक सूचना अनुसार ५ जनाको उम्मेदवारी परेको छ । जसमा एक महिला अनिवार्य हुनुपर्नेमा महिलाका तर्फबाट एकमात्रै कल्पना देबकोटाको उम्मेदवारी परेको बुझिएको छ भने खुल्लामा षडानन्द लामिछाने, मदन गिरी, रिमबहादुर आले, नेत्रनारायण थनेतको उम्मेदवारी परेको छ । मनोनयन दर्तामा जिम्मेवारी सम्हालेको टीम अहिले कलष्टर विभाजन, सूचीकरण कार्यमा लागेको छ । उम्मेदवारी दिएर फर्किएकाहरुले आ आफ्नो उम्मेदवारीका बारेमा चर्चा चलाएसँगै यो सूची बनेको हो । आधिकारिक संयन्त्रले भने कुनै पनि उम्मेदवारको बारेमा जानकारी दिईसकेको छैन ।
आधिकारीक स्रोतका अनुसार उम्मेदवारको सूची राती प्रकाशित हुने र निर्वाचन प्रक्रिया बुधवार हुने जनाईएको छ ।