नवलपुर । देवचुलीमा खानेपानी गुणस्तर, शुद्धता र सुरक्षा योजना सम्वन्धि एक दिने अभिमुखीकरण कार्यक्रम भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरको आयोजना स्वास्थ्य शाखा देवचुली र खानेपानी महासंघ नवलपुरको समन्वयमा शुक्रवार दलदलेमा सरोकार सम्वद्ध लक्षित कार्यक्रम भएको हो ।
राष्ट्रिय खानेपानी गुणस्तर सर्भिलेन्स निर्देशिका २०७० प्रथम संशोधन २०७६ र राष्टिय खानेपानी गुणस्तर मापदण्ड २०७९ सम्वन्धि एक दिने अभिमुखीकरणमा देवचुलीका वडाअध्यक्ष, खानेपानी संस्थाका पदाधिकारी प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बक्ताका रुपमा बोलेका नगर प्रमुख हरिप्रसाद न्यौपानेले नगरभित्र रहेका सेवा प्रदायक खानेपानी संस्थाहरुमध्ये ठूला आयोजनाले खानेपानी गुणस्तर कायममा ध्यान दिएको तर साना खानेपानी संस्थाले सहज पानीको पहुँचमा पुगेको अवस्था अवगत गराए । नगरपालिकामा खानेपानीको अवस्थाको सर्वेक्षणका लागि गणक कर्मचारी नै नियुक्त गरेको बताउँदै यसले पनि यहाँको बास्तविकता अझ तथ्यपरक हुनेमा बिश्वास ब्यक्त गरे ।
बिश्व स्वास्थ्य संगठनका नेशनल प्रोफेशनल अफिसर डा. सुदनराज पन्थीले पानी शुद्धिकरण र क्लोरिनेशनका बारेमा अभिमुखीकरण गरेका थिए ।
प्रशिक्षणात्मक अभिमुखीकरणपछि बोलेका नगर प्रवक्ता तिलप्रसाद काफ्लेले नगरवासीले कति शुद्ध, गुणस्तरीय पानी प्रयोग गरेका छन् भन्नेमा यकिन तथ्य नभएको बताउँदै यसमा आफूहरुको पनि ध्यानाकर्षण रहेको र कर्तब्यबोध भएको बताए ।
स्वास्थ्य कार्यालय नवलपुरका निमित्त प्रमुख मुक्तिनाथ भटराईको अध्यक्षता तथा ल्याव टेक्निसियन प्रमुख डिल्लीराम तिवारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।