सीप सिकाउदै वडाः देवचुली ५ मा सावुन सरफ वनाउने तालिम

0 Shares

देवचुली । देवचुली नगरपालिका वडा नं. ५ ले सावुन सरफ बनाउने तालिम चलाएको छ । वडा नं. ५ का १५ जना तालिममा सहभागी छन् । देवचुली २ को भूमिका टेक्निकल सर्भिस प्रालिको समन्वयमा वडाको १ लाख रुपैंया बजेट शिर्षकमा ५ दिने तालिम मंगलवारदेखि शुरु गरिएको वडाअध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

दैनिक ४ घण्टा, ५ दिनसम्म चल्ने तालिममा सावुन, धुलो र झोल सरफ, झोल पिताम्वरी, फिनेलका ९ वटा सामानहरु बनाउन सिकाईने भूमिका टेक्निकल सर्भिस प्रालिका मुख्य प्रशिक्षक टोप नारायण मरासिनी बताउँछन् ।

मंगलवार तालिमको औचित्य, सीप, श्रममार्फत आर्थिक पक्ष सुधारमा उत्पादनमूलक तालिमको महत्वका बारेमा चर्चा गरेसँगै शुरु गरिएको सैद्धान्तिक र प्रयोगात्मक तरीकाको सीपमूलक तालिमपछि उत्पादनमा  जोडिन अभिप्रेरित गर्ने भूमिका टेक्निकल सर्भिसका निर्देशक दीपा देवकोटा अधिकारीले अपेक्षा गरिन् । उनले सिकेको सीपलाई श्रममा बदल्दा प्राप्त हुने उत्पादनले आम्दानीमा महत्वपूर्ण योगदान पुर्याउने तर्क गरिन् ।

वडाअध्यक्ष कृष्णप्रसाद सापकोटाले यसअघि पनि भएका थुप्रै सीपमुलक तालिमहरु सिलाई कटाई, कुसन खेलौना, प्लम्विङ, ईलेक्ट्रिसियन, मैन, अगरबत्ती बनाउने सीप सिकेका सहभागीहरुबाट अपेक्षित उदेश्य प्राप्ति नभएको यथार्थता प्रस्तुत गर्दै यो तालिमका सहभागीबाट आर्थिक सशक्तिकरणमा धेरै अपेक्षा रहेको बताए । उनले पाँचौ दिनसम्म सिकका सीप र ज्ञानलाई नियमित अभ्यासमा ल्याउँदा हुने उत्पादनको वजार प्रवदर्द्धनमा पनि सहयोग पुर्याउने बचन दिए ।

१५० घण्टाको प्याकेजमा लिनुपर्ने तालिम भएपनि आधारभूत सीप सिकाउन २० घण्टाको संक्षिप्त तालिका अनुसार ९ प्रकारका सरसफाईमा प्रयोग हुने अत्यावश्यक सामग्रीहरु बनाउन सक्षम हुने प्रशिक्षक मरासिनीले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार थप