नवलपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

0 Shares

खगेन्द्र पराजुली, असार २४ ।
नवलपुर ।
नवलपुरलाई पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गरिएको छ । जिल्लाका आठ वटै पालिकामा गरिएको सर्वेक्षणका क्रममा भेटिएका बच्चा र खोप लगाउन छुटेका बच्चालाई खोपको दायरामा ल्याए पश्चात् आइतवार एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गरिएको हो ।
घरभेटका क्रममा यस वर्ष १२ हजार ३ सय ८८ बालवालिकामा गरिएको सर्वेक्षणका क्रममा ५४ जना मात्रै बालबालिका खोप लगाउन छुटेका थिए । ति छुटेका बालबालिकालाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्र कुमार सिंहले बताए ।
जिल्ला स्वास्थ्य समित नवलपुरका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख बाबुराम बिश्वकर्माले खोपको पूर्णता, सुनिश्चितता र दिगोपना यि तीनवटा सन्दर्भलाई विर्सन नहुने तर्क गरे ।
पूर्ण खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय स्तरमा महिला स्वास्थय स्वयंसेवीदेखि स्वास्थ्यकर्मीको अहम् भूमिका रहेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । उनले नागरिकलाई नजिकै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि लागिरहेको अवस्थामा संघ र प्रदेशबाट अपेक्षाकृत सम्वोधन हुन नसकेको बताए ।
खोपको महत्वका बारेमा चर्चा गरेका गण्डकी प्रदेशका खोप समन्वय समितिका अधिकृत एक नारायण लम्सालले नेपालमा १३ प्रकारका खोप निशुल्क प्रदान गरेको बताए । उनले विफर विरुद्धको खोप नभएको भए आधा जनसंख्या घट्न सक्ने स्थिति रहने दृष्टान्त सुनाए ।
घोषणा कार्यक्रममा आठै पालिकाले प्राप्त गरेको पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै उत्कृष्ट स्वास्थ्यकर्मी, स्वयंसेविकालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सबै खोपहरु र पूणैखोप सुनिश्चितताका लागि १६ देखि ५९ महिना उमेर सम्मका बालबालिकाहरुको घरभेट मार्फत विभिन्न रोग विरुद्धका खोप सेवा दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।
सवै बालवालिकाले पाउनुपर्ने खोपको अधिकारलाई सुनिश्चिता गर्न प्रत्येक वर्ष माघ, फागुन र चैतमा खोज र खोप कार्यक्रम त्यसपछि पूर्ण खोप कार्यान्वयन भएका पालिका, जिल्ला, प्रदेश हुदै सिंगो राष्ट्रलाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुपर्ने राष्ट्रिय नीति छ ।
अहिलेसम्म ६३ जिल्ला पूर्ण खोप सुनिश्चितता बनेका छन् । आइतबार नवलपुरले पनि यो घोषणा गरेसँगै गण्डकी प्रदेशका ११ वटै जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने प्रदेश बनेको छ । यद्यपि प्रदेश घोषणा हुन भने बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप