खगेन्द्र पराजुली, असार २७ ।
देवचुली । देवचुली नगरपालिकाले विपत र हुनसक्ने महामारीमा अत्यन्त सचेत रहन स्वास्थ्यकर्मीलाई सचत गराएको छ । बुधबार स्वास्थ्य शाखाले नगर अस्पताल दुम्कौलीमा आयोजना गरेको अभिमुखीकरणमार्फत स्वास्थ्यकर्मीलाई सचेत गराएको हो ।
अस्पतालका प्रमुख डा. विद्या भुसालको अध्यक्षतामा भएको अभिमुखीकरणमा स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले किटजन्य संक्रमणबाट फैलिन सक्ने डेंगु, मलेरिया, जापानिज इन्सेफ्लाइटिस, स्क्रव टाइपसजस्ता महामारी समेत फैलन सक्ने किटजन्य रोग र बाढी, पहिरो, डुवान जस्ता विपत्तिमा सतर्क रहन निजी तथा सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी कर्मचारीलाई अभिमुखीकरण गरिएको बताए ।
यस्तै, स्वास्थ्य सेवा प्रदायक निजी संस्था संचालक वा स्वास्थ्यकर्मी लक्षित अन्तरक्रियामा अस्पताल प्रमुख डाक्टर विद्या भुसालले विरामीलाई सहि उपचार र औषधि गर्न ध्यान दिन आग्रह गरिन् ।
स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले देवचुली नगरपालिकाका नागरिकले लिने गरेको स्वास्थ्यसँग सम्वन्धित बास्तविक सेवा पहिचानका लागि विरामीको संख्या रिपोर्टको मासिक अद्यावधिक रिपोर्ट र महामारी हुनसक्ने प्रकृतिका रेकर्ड स्वास्थ्य शाखामा पेश गर्न भनेका छन् ।
अस्पतालका सूचना अधिकारी गणेश न्यौपानेका अनुसार सम्पूर्ण दुई सत्रमा गरिएको कार्यक्रममा सहभागीलाई नयाँ मेडिकल कलेजका बालरोग डाक्टर अजित कुमार मिश्रले बालरोग सम्वन्धि चेकजाँच, रोग पहिचान, उपचार विधि, औषधि र प्रयोगशाला सिफारीस जस्ता महत्वपूर्ण विषयमा अभिमुखीकरण तथा अनुभव चर्चा गरेका थिए ।
कार्यक्रममा निजी स्वास्थ्य संस्थाको नगरपालिकामा दर्ता सूचीकरण प्रक्रिया, सेवा प्रवाहमा सही उपचार विधि, महामारी विपत्तिमा एकैसाथ सहकार्य र विरामी विवरणको रिपार्ट जस्ता विषयमा अन्तरक्रिया र अभिमुखीकरण भएको हो । कार्यक्रममा स्वास्थ्य शाखा देवचुलीको टोली, स्वास्थ्य चौकीका प्रतिनिधि, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख, निजी संस्थाका स्वास्थ्यकर्मी, सञ्चालकमध्येबाट प्रतिनिधित्व रहेको थियो ।