खगेन्द्र पराजुली, असार २८ ।
नवलपुर ।
नवलपुरका दुई छुट्टाछुट्टै खोलाले बगाएर बेपत्ता २ जनामध्ये १ जना मृत फेला परेका छन् । विहिबारको मनसुनी वर्षाका कारण मध्यविन्दुको उल्टी खोलाको बाढीले बगाएका एक जना मृत फेला परेका हुन् भने पहाडी क्षेत्र बौदीकालीको बौदी खोलाको भेलले बगाएका एक जना हराइरहेका छन् ।
प्रहरीका अनुसार वेपत्ता भएका भनिएका मध्यविन्दु ४ मदनपुरका ३५ वर्षका सूर्य परियार घटनास्थलदेखि ७ सय मिटर तल उल्टी र छुकछुके खोलाको दोभानमा मृत फेला परेका हुन् । यस्तै, बौदीकाली १ खारा गाउँका ४८ बर्षका बिशाल कार्की अहिलेसम्म पनि फेला परेका छैनन् । दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी एवं सूचना अधिकारी बेदबहादुर पौडेलले जानकारी दिए ।
बौदीकालीका बिशाल अरु खेताला साथीहरुसँग समूहमै मेलामा जाने क्रममा खोला तर्दै गर्दा बगेका स्थानीयलाई उधृत ेगर्दै प्रहरीले जनायो ।
बर्षातको समयमा बाढी पहिरोको सम्भावित क्षेत्र, खोला नाला, नदी तटीय क्षेत्र अत्यन्त जोखिम र खतरापूर्ण हुने भएकाले होसियार हुन पनि उनले आग्रह गरेका छन् ।
उनले खोला नदी तरिरहेको अनुभव छ भनेर जोखिम नमोल्न पनि सचेत गराएका छन् । बाढी आएका बेला, खोला नदी तर्ने, माछा दाउरा पक्रने वा अनावश्यक रुपमा डुंगा चलाउने नगर्न पनि अनुरोध गरेका छन् ।