खगेन्द्र पराजुली, असार २९ ।
नवलपुर । नवलपुरपट्टि नारायणी बीचको टापुमा शनिवार दिउँसो फेला परेका २ मध्ये १ शवको सनाखत भएको छ । शनिवार गैंडाकोट नगरपालिका वडा नं. ७ को गैरी भन्ने ठाउँको नारायणी नदीबीचमा रहेको टापुमा भेटिएको शव सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नं. ३ का १९ वर्षका रमित कुमार माझीको शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी बेदबहादुर पौडेलका अनुसार बेवारिसे अवस्थामा भेटिएको शव मृतकका बुवा रबिन्द्र कुमार माझीले सनाखत गरेका हुन् ।
रमित काठमाण्डौबाट गौरतर्फ जादै गरेको प्रदेश ०३–००१–२४९५ नम्बरको बसका यात्रु हुन् । शुक्रवार चितवनको सिमलतालमा पहिरोले बगाएको गाडीमा सवार उनलाई त्रिशुलीले बगाएर गैंडाकोट क्षेत्रमा ल्याएको हो ।
शनिवार पानी नपर्दा अहिले नारायणीको जल सतह घटेको छ । यस्तो अवस्थामा घटनामा परेका बसमा सवार मानिसहरुलाई नदीले बगाएर बगर, किनार, टापु र झ्याँङ्कटहरुमा छोड्न सक्ने भएकाले प्रहरीले गस्तीलाई प्राथमिकता दिएको जनाएको छ भने स्थानीयले समेत तटीय क्षेत्रमा सतर्कता सहित निगरानी बढाएका छन् ।
यो समाचार तयार पार्दासम्म चितवन र नवलपुरमा गरी ३ वटा शव फेला परेका छन् । तिमध्ये २ जनाको शव पहिचान भएको छ । पहिचान हुन बाँकी एउटा शव भरतपुरस्थित शवगृहमा राखिएको छ ।