खगेन्द्र पराजुली, असार ३१ ।
नवलपुर । विनयी त्रिवेणी – ७ स्थित ब्यारेज पुलमा एक बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले उपलब्ध गराएको पछिल्लो खोजतलासको अपडेट विवरणमा १२/१३ वर्षका वालकको शव फेला परेको जनाइएको छ ।
सिमलताल पहिरोमा परेर त्रिशुलीमा हराएको वस घटना पश्चात जारी खोजतलासमा यो सहित १३ जनाको शव फैला परेको छ ।
सोमवार विहानसम्म ७ जनाको शव सनाखत भएकोमा प्रहरीले दिएको जानकारी अनुसार थप एक जनाको शव सनाखत भएको छ ।
प्रहरीका अनुसार आइतवार अपरान्ह पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ४ मा फेला परेको शव वारा जिल्लाको साविक विश्रामपुर गा.वि.स. वडा नं. ४ का ४३ वर्षका प्रमानन्द पण्डितको भएको जनाइएको छ ।
हिजो आइतबार भेटिएका २ वटा र आज सोमवार फेला परेका ३ वटा गरी ५ जनाको शव सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक वेद वहादुर पौडेलले जनाएका छन् ।
भेटिएका शवमध्ये भरतपुर २६ शिसवार क्षेत्रम भेटिएको अन्दाजी ३०/३५ वर्षको पुरुष, विनयी त्रिवेणी गाउँपालिका बडा नं. ७ ब्यारेज पुलमा भेटिएको १८/१९ वर्षकी महिला, ब्यारेज पुलमै भेटिएको २५/३० वर्षको पुरुष, मध्यविन्दु नगरपालिका वडा नं. २ भुताहामा भेटिएको ४०/४५ वर्षको पुरुष र ब्यारेजपुलमै भेटिएको १२/१३ वर्षको बालकको शव सनाखत हुन सकेका छैनन् ।
यसक्रममा त्रिवेणीसम्म भेटिएका शवहरू चितवनस्थित भरतपुर अस्पतालको शवगृहमा राखिएका छन् ।
चितवन, नवलपुर र नवलपरासी तिन वटै जिल्लाका प्रहरी प्रशासनले खोजी कार्य र विवरणलाई समन्वय गरेका छन् ।