खगेन्द्र पराजुली, असोज ६ ।
नवलपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुणकुमार चौधरीले कावासोतीको महाराजा मन्दिर दर्शन अवलोकन गरेका छन् । शनिबार नवलपुर आएका राज्यमन्त्री चौधरी आइतबार बिहान वडा नं. १ हात्तीखोरमा रहेको धार्मिक केन्द्र महाराजा मन्दिर पुगेका थिए ।
थारुहरुको साँस्कृतिक धार्मिक पर्व जितियाका अवसरमा आयोजित कार्यक्रममा कावासोती आएका राज्यमन्त्री चौधरीले नवलपुर जिल्लालाई पर्यटकका लागि उपयुक्त गन्तब्य हुन सक्ने आफूले महशुस गरेको बताए ।
आन्तरिक र वाह्य दुवै खालका पर्यटक पाहुनाको आकर्षण बन्न सक्ने पर्यटकीय आधारहरु नवलपुरमा प्रसस्त भएको उनले प्रतिक्रिया दिए ।
महाराजा मन्दिरमा आधा घण्टा रोकिएका राज्यमन्त्री चौधरीलाई महाराजा धार्मिक क्षेत्रको पौराणिक धार्मिक, कथन, आस्था र जनविश्वासका बारेमा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम बिश्वकर्मा, वडाअध्यक्ष तवारक मियाले बताएका थिए ।
त्यसलगत्तै पोखरीताल पुगेका मन्त्रीलाई कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेतले कावासोतीका उत्तरी खण्डमा पर्यटकीय सम्भावना भएका क्षेत्रको बारेमा जानकारी गराएकी छन् ।
पोखरीतालमा मोटामोटी अवलोकन गरेका राज्यमन्त्री चौधरीले नवलपुरका कला, संस्कृति, पर्यटन प्रवद्र्धनका क्षेत्रमा निसंकोच भएर सक्दो पहल गर्ने आश्वासन दिएर काठमाण्डौ फर्किएका छन् ।