देवप्रगति सेभेन ए साइड फुटबलः बिहीबार आयोजक बी, कराँते र अभिषेक चर्चले जिते, शुक्रबार प्रि क्वाटर सहित ४ खेल हुने

0 Shares

खगेन्द्र पराजुली, असोज १७ ।
देवचुली । प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा बिहीबार तीन खेल भए । देव प्रगति युवा समाजको आयोजनामा देवचुली ७ रामबासको भीमसेन मावि खेल मैदानमा बिहीबार भएको पहिलो प्रतिस्पर्धामा आयोजक देवप्रगति युवा समाजको समूह बीले जित निकाल्यो । यस्तै, देवचुली ७ को नेपाल सितेरियो कराँते र रजहरको अभिषेक चर्चले जित निकाले ।
विहीबार भएको पहिलो खेलमा देवचुली ११ को टीमलाई ट्राइव्रेकरमा २–० गोल अन्तरले हराउँदै आयोजक बीले जितेको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल ट्राईव्रेकरमा धकेलिएको थियो । देवचुली ११ का २ खेलाडीले प्रहार गरेको बल आयोजकका गोलकिपर पुरुषोत्तम अर्यालले रोक्न सफल हुँदा आयोजकले खेलका नतिजा आफ्नो पोल्टामा पार्यो ।
यस्तै, दोस्रो खेल पनि ट्राईव्रेकरमा धकेलिएको हो । देवचुली ७ को कराँतेको टीमले देवचुली १० को शान्तिदीप युवा क्लवलाई ३–२ गोल अन्तरले पछाडी पार्यो । दुबैतर्फका ३–३ जना खेलाडीले प्रहार गरेको बलमध्ये कराँतेका गोलकिपर भरत बाह्रघरेले रोकेको एक गोल जितका लागि निर्णायक बन्यो । निर्धारित समयमा दुवै टीमबाट १–१ गोलको बराबरी भएपछि खेल ट्राइव्रेकरमा पुगेको हो । प्रतिस्पर्धामा शान्तीदिपका सुसन घर्तीले र कराँतेका गौरब सिंजालीले गोल गरेका थिए ।
बिहीबारै भएको तेस्रो खेलमा देवचुली १० कै पृथ्वी समाजलाई अभिषेक चर्चले एक गोल हान्यो । अभिषेक चर्चका लागि अभिषेक महतोले हानेको गोल नै निर्णायक बन्न पुग्यो ।
विहीबारको प्रतिस्पर्धामा आयोजक बीका पुरुषोत्तम अर्याल, कराँतेका भरत बाह्रघरे र अभिषेक चर्चका अभिषेक महतो म्यान अफ द म्याच भए ।
असोज ९ गतेदेखि सञ्चालित प्रतियोगितामा अहिलेसम्म पहिलो चरणको प्रतिस्पर्धामा २८ टीमले खेले । शुक्रबार  प्रि क्वाटर चरण सहित  एकैदिन ४ वटा खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप