खगेन्द्र पराजुली, असोज १७ ।
देवचुली । देवचुली होटल ब्यवसायी संघले विभिन्न माग सहित चौधरी उद्योग कम्पनीलाई ध्यानाकर्षण गराएको छ । शास्वत धामका कारण नवलपुरकै प्रख्यात पर्यटकीय गन्तब्यका रुपमा चिनिएको सिजी क्षेत्रलाई सुन्दर, धुलो धुवाबाट उत्पन्न दुर्गन्ध रहित र मन्दिर दर्शनका लागि घुम्न आउनेका लागि सहज प्रवेशको प्रवन्ध मिलाउन ध्यानाकर्षण गराईएको होटल ब्यवसायी संघ देवचुलीका बरिष्ठ उपाध्यक्ष भोजराज ज्ञवालीले जानकारी गराएका छन् ।
ज्ञापन पत्र सहित पुगेका होटल ब्यवसायी संघ देवचुलीका पदाधिकारी, दिब्यपुरीको सिजी आसपासका ब्यवसायीको प्रतिनिधि टोलीले ठेला पसलको उचित ब्यवस्थापन, उद्योगको ढलको दुर्गन्ध र चिम्नीबाट निस्किने धुलोको ब्यवस्थापन, उद्योग बाहिर उज्यालो बत्तीको ब्यवस्थापनका साथै सर्वसाधारणका लागि निशुल्क मन्दिर प्रवेशको बातावरण मिलाउन ध्यानाकर्षण गरिएको अध्यक्ष लक्ष्मण चापागाईले स्पष्ट पारे ।
ब्यवसायीले दिएको जानकारी पश्चात् सिजीआईपीका प्रवन्ध निर्देशक रामकाजी सिटौलासँग भएको टेलिफोन सम्वादमा उल्लेखित वुँदामा उद्योग प्रशासन सकारात्मक रहेको बताए ।
प्रवन्ध निर्देशक सिटौलाले ब्यवसाय गरेर बसेका ठेदागाढा बाटो निर्माणको काम शुरु हुनासाथ वसिरहेको ठाउँ छोड्ने भएकाले दशै तिहार चाडपर्वसम्म धैर्य गर्न आग्रह गरे ।
प्रदुषणसँग जोडिएको बिषयमा उद्योगभित्रै रिचार्जेवल पोखरीहरु निर्माण गरी कम्पनीभित्रैको बगैचा, फुलबारी र जंगलमा सिचाई गर्ने अवधारणा ल्याएको बताए ।
उद्योग परिसरको बाहिरपट्टी तिहारपछि उज्यालो बत्ती जडान गर्ने प्रतिवद्धता गरेका छन् । यस्तै, म्युजिम अवलोकन भ्रमण गर्न आउनेहरुका लागि मात्रै प्रवशे शुल्क लिने गरेका स्पष्ट पारे । मन्दिर घुम्न दर्शन गर्न आउनेहरुका लागि प्रवेश निशुल्क रहेको स्पष्ट पारे ।