कार्तिक ९, देवचुली ।
कार्तिक १२, १३ र १४ गते हुने देवचुली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पूर्व तयारीका कार्यहरु चलिरहेका छन् । भीमसेन माविको खेल मैदानमा हुने विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को तयारी भइरहेको शिक्षा, युवा तथा खेलकुद बिकास शाखा देवचुलीले जनाएको छ ।
खेलकुद विकास समिति, आयोजक विद्यालय प्रशासन र अफिसियल रेफ्री, निर्णायकबीचको संयुक्त बैठकले खेल तालिका निर्माणदेखि मैदान सुधार लगायतका प्राविधिक विषयका साथै शिक्षा तथा खेलकुद शाखाले पत्राचार लगायतका गतिविधिलाई कार्यान्वयन गरेको शाखा अधिकृत नन्द ढकालले जानकारी दिए ।
ढकालका अनुसार यसपटक अन्तर विद्यालय खेलकुद प्रतियोगितामा भाग लिन विद्यालय तह खुल्ला गरिएको छ । माध्यमिक तहका विद्यार्थी खेलाडीसँग प्रतिस्र्धा गर्न सक्ने आधारभूत तहका विद्यार्थी खेलाडी समेतले भाग लिन पाउने गरी प्रतियोगिता खुल्ला रहेको ढकालले बताए ।
नगर खेलकुद बिकास समितिका अनुसार ५ विधाका ५४ इभेण्टमा प्रतिस्पर्धा हुनेछ । छात्र–छात्राका भलिवल, कवडी, मार्सल आर्टस, ब्याडमिण्टन र एथलेटिक्ससँग सम्वन्धित खेलहरु हुने खेलकुद बिकास समिति सचिव प्रकाश काफ्लेले जनाए ।
वर्षेनी हुने विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यसवर्ष सहभागी विद्यालयका साथै प्रतिस्पर्धी खेलाडी संख्या बढ्नसक्ने अनुमान छ । गत वर्ष देवचुली ९ को कालिका माविमा आयोजित प्रतियोगितामा १४ विद्यालय सहभागी थिए । गतवर्ष माध्यमिक तहका खेलाडी विद्यार्थी मात्रै प्रतिस्पर्धामा सहभागी भएका थिए ।
