गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा कात्तिक २६ देखि सञ्चालन हुने ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ मा नेपालमै पहिलोपटक पानी भरिएको टनेलभित्र गएर माछा हेर्ने व्यवस्था गर्न लागिएको हो । महोत्सव स्थलमा ६० फिट चौडाइ तथा दुई सय फिट लम्बाइ भएको टनेलमा विभिन्न प्रकारका माछा राखेर टनेलबाट हेर्ने व्यवस्था गर्न लागिएको राजधानी एम्युजमेन्ट राइट्स नेपालका व्यवस्थापक अभय चौधरीले जानकारी दिए । टनेलभित्र पानीमा राखिने माछा ६ फिटसम्मको हुने भन्दै चौधरीले ती माछाहरु चाइनाबाट ल्याइएका तथा विभिन्न रङ्ग र आकारका भएका बताए ।
टनेलभित्र एकैपटक पाँच सय जना मान्छे प्रवेश गरेर माछा हेर्ने व्यवस्था गर्न लागिएको उनको भनाई छ । दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सय बढी स्टलहरु रहने महोत्सवका मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए । अहिले महोत्सव स्थलमा धमाधम स्टल निर्माण, विभिन्न जातजातिको सांस्कृतिक घर निर्माण लगायतका कामहरु भइरहेको भट्टचनले बताए ।
सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको भट्टचन बताउँछन् । कात्तिक २६ गते सुरु भएर मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ ।

