नारायणी किनारमा एकादशी मेला शुरु

0 Shares

खगेन्द्र पराजुली । कार्तिक २४, नवलपुर ।
देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले केउरेनीको दिब्यधाम नारायणी किनारमा लाग्ने एकादशी मेला देवचुली नगरपालिकाकै गौरव र गहना भएको बताएका छन् । नवौ संस्करणको एकादशी साँस्कृतिक रमाइलो तथा पर्यटन मेला २०८१ को उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख न्यौपानेले नगरवासीका साथै जिल्ला र छिमेकी जिल्लाका धार्मिक तथा प्रकृतिप्रेमी आन्तरिक पर्यटकको लागि देवचुलीकै उपयुक्त गन्तब्य हुनसक्ने भएकाले एकपटक मेला अवलोकनका लागि उपस्थित भईदिन आह्वान र आग्रह गरे ।
उनले पर्यटन र कृषिमा नगरपालिकाको चासो रहेको बताए । उनले यहाँको देवचुलीदेखि नारायणीसम्मको पर्यटकीय क्षेत्रमा उल्लेख्य पाहुना भित्याउने ति पाहुनालाई स्थानीय उत्पादनको मौलिक स्वाद परिकारमा बानी पार्न सके मात्रै पनि देवचुलीको आर्थिक वृद्धिमा टेवा पुग्ने जिकिर गरे ।
यस्तै, शिशवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले देवचुलीको दक्षिणी एवं नारायणी तटीय क्षेत्र जैबिक, प्राकृतिक तथा पर्यापर्यटनका दृष्टिले चितवन राष्ट्रिय निकुञ्जमध्येको उपयुक्त अवलोकनस्थल भएको बताए । तर, प्रचारप्रसारको अभावमा देवचुली लगायत पश्चिमी सेक्टर ओझेलमा परेको पनि दुखेसो गरे ।
२७ गते मंगलबारसम्म ४ दिन चल्ने मेला उद्घाटन समारोह हुनुभन्दा अगाडी देवचुली १ केउरेनी चोकबाट बाजागाजा, विभिन्न जातजाति, समूहको पहिरन, झाँकी सहित शोभायात्रा निस्किएको थियो ।
संयोगवश देवचुली नगरपालिका आएका वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पनि दिब्यधाममा लाग्ने एकादशी धार्मिक मेला र दिब्य बनको खुल्ला चौरमा सञ्चालित साँस्कृतिक रमाइलो र पर्यटन मेलाका प्रतिनिधिमूलक स्टलको अवलोकन गरे ।
मञ्चबाटै सम्वोधन गर्न भने नभ्याएका वालिङ नगरप्रमुख खाँणले उक्त मेलामा देखिएको नवलपुरमै उत्पादित सुन्तला र वालिङको उत्पादन सुन्तलालाई नाफामूलक ब्यवसायमा रुपान्तरण गर्न भर्खरै उद्योगको अवधारणा जागृत भएको आफूले महशुस गरेको सुनाए ।
मेला आयोजक दिब्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुभाषचन्द्र ओझाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा शिशवार पर्यटन बिकास समितिका अध्यक्ष मनहरी पौडेलको स्वागत मन्तब्य रहेको थियो भने शिशवार मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव सत्यराज अधिकारीले उद्घाटन तथा साँस्कृतिक दुबै सत्रको कार्यक्रम सञ्चालन गरेका थिए ।
शनिवार स्थानीय मौलिक, जातजातिका साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । दिब्य एकेडेमीका विद्यार्थीले स्वागत गीत, कराँतेका नमूना प्रस्तुत गर्दा दिब्य नेवा गुठीले लाखे, पिप्रहर होमस्टेद्धारा लाठी घैला नाँच, मगर समुदायको कौराहा, सोरठी लगायतका जातिय बिशेषता सहितका साँस्कृतिक प्रस्तुति भएका थिए ।
मेलाको दोस्रो दिन २५ गते आइतबार बाल कलाकार सुप्रिम मल्ल, लोक गायक शुरेस अन्जान, दोहोरी गायिका सपना परियार लगायत स्थानीय प्रतिभा तथा मौलिक प्रस्तुति हुने कलाकार संयोजक बिरेन्द्र सुनारले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप