खगेन्द्र पराजुली,
मंसिर ७, नवलपुर । आज शुक्रबारदेखि देवचुलीमा सर्वाधिक राशी पुरस्कार सहितको फुटबल प्रतियोगिता हुँदैछ । शान्तिदीप युवा क्लवको आयोजनामा २ लाख ७५ हजार रुपैंया प्रथम पुरस्कार रहेको प्रथम देवचुली गोल्डकप हुने जनाईएको छ ।
देवचुली नगरपालिका वडा नं. १० पृथ्वीनगरस्थित लोकाहामा रहेको नगर रंगशाला खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमा खेलको सन्दर्भ र तयारीका बारेमा जानकारी दिईएको हो ।
प्रतियोगितामा १४ टीमले प्रतिस्पर्धा गर्ने शान्तिदीप युवा क्लवका अध्यक्ष अमर घर्ती मगरले बताए ।
नवलपुर, नवलपरासी र चितवनका चर्चित क्लवबाट खेलाडीहरु खेल्न आउने आयोजकले जनाएको छ ।
दुई पोलमा समूह विभाजन गरिएको छ । ए समूहमा कावासोतीको वातासिनो योङस्टार, गिरुवारीको युनाइटेड युवा क्लव, देवचुली दलित समाज, गैंडाकोट फुटबल क्लव, नगर युवा खेलकुद विकास समिति देवचुली, चितवनको योङब्वाइज, र रामपुरको सेन्ट्रल कलेज रड्स गरी ७ टीम छन् ।
यस्तै, समूह बीमा साविक पिठौली, आयोजक शान्तिदीप, सेन्ट्रल कलेज २८ विगाहा, साथीभाई फुटबल क्लव, अभिषेक चर्च रजहर, नवलपुर ११ र देशभक्त फुटबल क्लवले खेल्नेछन् ।
शुक्रबारको उद्घाटन खेल कावासोतीको वातासिनो योङस्टार र गिरुवारीको युवाइटेड युवा क्लवबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ भने गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री रोशनबहादुर गाहाले प्रथम देवचुली गोल्डकप २०८१ को उद्घाटन गर्ने कार्यतालिका रहेको शान्तिदीप युवा क्लवका सचिव दीपक न्यौपानेले जानकारी दिए ।
विगतका वर्षहरुमा विभिन्न स्मृति कप र क्लवको नाममा हुने गरेका प्रतियोगिताभन्दा फराकिलो दायरामा देवचुलीकै गौरव देवचुली गोल्डकप सञ्चालनको तयारी भएको वडा नं. १० का अध्यक्ष रेप्तीकुमार घर्तीले स्पष्ट पारे ।
यसले नयाँ प्रतिभा खोजीलाई भन्दा पनि ब्यवसायिक टीम र खेलाडीको अवसरलाई प्रोत्साहन गर्ने विश्वास लिईएको बताए ।
प्रतिस्पर्धाको उपविजेता समूहका लागि नगद १ लाख ५० हजार रुपैया राशीको पुरस्कार रहेको छ भने सेमी फाइनल पुग्ने दुई टीमलाई २५–२५ हजार सान्त्वना पुरस्कार रहेको आयोजकले घोषणा गरेको छ ।