मंसिर ७, देवचुली । देवचुली पर्वत समाजको अध्यक्षमा चोकनारायण भुसाल चयन भएका छन् । बिहिबार भएको तेस्रो अधिबेशनले भुसालको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध चयन भएको हो ।
समाजको उपाध्यक्षमा राजेन्द्र खत्री, सचिवमा कुस्माखर काफ्ले, सहसचिवमा गौरीश्वर न्यौपाने र कोषाध्यक्षमा लक्ष्मी तिवारी चयन भएका निर्वाचन समितिले जनाएको छ ।
यस्तै, सदस्यमा बिमला तिवारी, रुमाकला काफ्ले, नारायणदत्त भुर्तेल, युवराज पौडेल, तुलसी न्यौपाने र शिवपुरी सन्यासी सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिका संयोजक धर्मदत्त भुसालले जानकारी दिए ।
बिहिबार भएको पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशन गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उद्घाटन गरे ।
उद्घाटन सत्रमा बोलेका बक्ताहरुले संगठित रुपमा स्थापित समाजले समाजमा सकारात्मक सन्देश सहितका गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनीहरुले सुख र दुखमा सहयोग र सहभागिताका साथसाथै पर्वतको रहनसहन, रितिरिवाज र लोक संस्कृतिको प्रवद्र्धन गर्दै भावी सन्ततिका लागि संस्कारसहितको भावनामा जागरण ल्याउनेमा विब्वास ब्यक्त गरे ।
समाजका सचिव हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, वडा न.. १३ का पूर्व वडाअध्यक्ष डिलबहादुर खत्री, सामाजिक अगुवा कृष्णप्रसाद गौतम लगायतले बोलेका थिए ।