नवलपुर, मंसिर ८ ।
प्रथम देवचुली गोल्डकप शुरु भएको दोस्रो दिन शनिवारको खेलमा आयोजक शान्तिदीप युवा क्लवले जित हात पारेको छ ।
साविक पिठौली गाविसको टीमसँग खेलेको आयोजकले ४–१ गोलको अन्तरले सहज जित निकाल्यो ।
खेल शुरुवात भएको १३ मिनेटमा साविक पिठौलीका जर्सी नम्वर २ का प्रशिस खनालले गरेको पहिलो गोल नै पिठौलीका लागि सान्त्वना गोल बन्न पुग्यो । घरेलु मैदानमा खेलेको आयोजक शान्तिदीपका लागि जर्र्सी नंम्वर ६ का खेलाडी जयबहादुर थापाले १५ औं मिनेटमा गोल गर्दै बराबरी बनाए । लगत्तै जर्सी नम्वर १५ का आशिष बहादुर सारुले २० औं मिनेटमा अर्को गोल गरे ।
मध्यान्तर अगाडी २–१ अन्तर रहेको खेलमा मध्यान्तर पछाडि आयोजकले २ गोल थपे । ४८ औं मिनेटमा जर्सी नम्वर ८ का राजन पाठक र जर्सी नम्वर १० का अमृत बुढामगरले ५१ औं मिनेटमा एक–एक गोल गरे ।
शनिवारको प्रतिस्पर्धामा साविक पिठौलीका प्रशिस खनाल म्यान अफ द म्याच भए ।
नवलपुर र चितवनका गरेर १४ टोलीले सहभागीता जनाएको प्रतियोगितामा आइतबार देवचुली नगर खेलकुद बिकास समिति र चितवनको योङब्वाइजबिच खेल हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद तथा उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।