जेसिज सप्ताहः देवचुली ३ का १ सय ४७ विद्यार्थीलाई झोला

0 Shares

देवचुली, मंसिर ९ ।
देवचुली जेसिजले सप्ताहब्यापी कार्यक्रम अन्तर्गत विपन्न तथा जेहेन्दार विद्यार्थी लक्षित झोला वितरण गरेको छ । शनिबार देवचुली नगरपालिका वडा न. ३ मा १ सय ४७ विद्यार्थीलाई झोला वितरण गरेको हो ।
देवचुली जेसिजका उपाध्यक्ष एवम् देवचुली ३ का वडासदस्य चित्रबहादुर थापाको सहयोगमा शैक्षिक सामग्री झोला वितरण गरिएको देवचुली जेसिजका महासचिव जीवन भुसालले जानकारी दिए ।
कार्यक्रम संयोजक समेत रहेका सहयोगी थापाले आफू जनप्रतिनिधि निर्वाचित भएयता ब्यक्तिगत खर्चमै शैक्षिक तथा खेलकुदका सामग्रीका साथसाथै वडाभित्रै उपयोग गर्नका लागि माइक, साउण्ड बक्स र आमा समूहको भवनमा इन्टरनेट समेत जडान गरि सामाजिक उत्तरदायित्वमा रचनात्मक भूमिका खेलेका छन् ।
सामुदायिक विद्यालयमा अध्ययनरत वडाभित्रका आधारभूतदेखि माध्यमिक तहसम्मका विद्यार्थीले शैक्षिक सहायता सामग्री ग्रहण गरेका हुन् । कार्यक्रममा वडा नम्वर ३ का अध्यक्ष होमनाथ पौडेल, प्राकृतिक चिकित्सालय रजहरका सचिव प्रदिपराज घिमिरे, रेडक्रस सोसाइटी देवचुली उपशाखा सभापति देवेन्द्र शर्मा, दिब्यपुरी खानेपानीका अध्यक्ष तिलप्रसाद पाठक लगायत स्थानीय सामाजिक अगुवा तथा लाभग्राही विद्यार्थीका अभिभावकको उपस्थिति रहेको थियो ।
देवचुली जेसिजले सप्ताहब्यापी कार्यक्रम अन्तर्गत प्रगतिनगरमा रहेको पशुपति संस्कृत साङ्गबेद आवासीय माविमा अध्ययनरत विद्यार्थी बटुकका लागि भोजन, विद्यार्थी लक्षित स्वस्थ आहार बिहार सचेतना, देवचुली डाँडा पदयात्रा र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको शिशवार मध्यवर्ती क्षेत्रको पर्यटन प्रवद्र्धन हेतु प्रचारात्मक कार्यक्रम सहितका गतिविधि गरिने तालिका रहेको देवचुली जेसिजका अध्यक्ष सन्तोष काफ्लेले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप