प्रदुषण रोक्न माग गर्दै सिजीमा धर्ना

0 Shares

खगेन्द्र पराजुली,
मंसिर ९, नवलपुर ।
सिजीबाट सिर्जित प्रदुषणका कारण आजित स्थानीय धर्नामा बसेका छन् । स्थानीयले बिहिबारदेखि २ नम्वर पूर्वी गेट बन्द गरेर गेटै अगाडि धर्ना दिएका छन् ।
धर्नाको चौथो दिनसम्म पनि स्थानीयको समस्यालाई उद्योगले नटेरेको भन्दै विरोधको स्वरुप परिवर्तन हुने संकेत गरेका छन् ।
उनीहरुले सोमबारदेखि उद्योगको मूलगेटमै तालावन्दी गर्ने चेतावनी दिएका छन् ।
संघर्ष समिति नै खडा गरेर बिरोध र धर्नामा उत्रिएका स्थानीयले उद्योगबाट फैलिएको कालो धुलो र गन्हाउने पानीको शुद्धिकरण ब्यवस्थापन गर्न भनेका छन् ।
बर्षौदेखि समस्या भोग्दै आएको गुनासो गरेका उनीहरुले स्थानीयको आवाजलाई उद्योगले सँधैं बेवास्ता गरेको बताए ।
उद्योग सञ्चालन भएको एक दुई वर्षपछिबाट प्रदुषण र दुर्गन्धले आजित भएको बताएका स्थानीयहरुले आफूहरु पिडित भएको पीडा पोख्छन् ।
हरेक पटक समस्या समाधानको विषयमा छलफल हुँदा टोल–वडाका अगुवा प्रतिनिधिहरुसँग सुधार गर्ने आश्वासन दिने तर सुधार नहुदा प्रदुषणको समस्या झन् बढ्दै गएको सिजी आसपासका बासिन्दा बताउँछन् ।
नागरिकको स्वास्थ्य र दैनिक दिनचर्यालाइ नै प्रभावित पारेको समस्याप्रति उद्योग, स्थानीय सरकार र प्रशासन गम्भीर र जिम्मेवार भईदिन स्थानीयले आग्रह पनि गरेका छन् ।
आफ्ना समस्याहरु प्रशासन, पालिका, वडा लगायतका सरोकार निकाय र तहमा पुर्याएपनि अपेक्षित पहलकदमी हुन नसकेकोप्रति स्थानीयले दुखेसो गरे ।
उता, उद्योग रहेको वडा देवचुली नगरपालिका वडा नं. २ ले वातावरण र प्रदुषणकै विषयमै उद्योगलाई जवाफसहितको पत्र काटे पनि चित्तबुझ्दो जवाफ नपाएको वडाअध्यक्ष शरदप्रसाद घिमिरेले सुनाए ।
प्रशासन, पालिका लगायतका निकायले अनुगमन, निरिक्षण गर्ने गरेपनि उद्योग प्रशासनलाई कार्वाहीको दायरामा ल्याउन नसक्नुले समस्या बल्झिरहेको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप