देवचुलीका २ विद्यालयमा अनुगमनः प्रशासनिक सुधारदेखि सरसफाइ राख्न निर्देशन

0 Shares

खगेन्द्र पराजुली,
नवलपुर, मंसिर १३ ।
देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बिद्यालयको शैक्षिक गुणस्तरका साथसाथै शैक्षिक क्षेत्रको बातावरण सुधारमा ध्यान दिन निर्देश गरेका छन् । नगर शिक्षा समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख न्यौपानेको नेतृत्वमा पुगेको टोलीले विद्यालय निरिक्षण गरेपश्चात् नगर प्रमुखले विद्यालय प्रशासनलाई सुझाव समेत दिए ।
बुधबार देवचुली ५ को सकला मावि र देवचुली ४ को शान्ति सृजना आधारभूत विद्यालयको निरिक्षणमा पुगेको टोलीले प्रतिनिधिमूलक कक्षा अवलोकन, भवन, खानेपानी, शौचालय खेल मैदान लगायतका पूर्वाधार–संरचना, विज्ञान तथा कम्प्यूटर प्रयोगशाला, पुस्तकालय, बाल बिकास कक्षाको स्थिति अवलोकन र विद्यालय खाजा कार्यक्रमको निरिक्षण गरेको हो ।
अवलोकन पछि बोलेका नगर प्रमुख न्यौपानेले पछिल्ला वर्षहरुमा सकलाको शैक्षिक गुणस्तर सुधारात्मक पाइए पनि गुणात्मक नतिजा प्राप्त गर्नेतर्फ बिद्यालयले सोच्नुपर्ने वताए ।
अपुरो अधुरो पूर्वाधार निर्माण सम्पन्न हुन नसेकेको अवस्था देखेका नगर प्रमुख न्यौपानेले विद्यार्थी ओहोर–दोहोर गर्ने भर्याङमा तत्काल रेलिङ राख्न बजेटको ब्यवस्था मिलाउने बचन दिए । उनले शौचालय, भान्सा, पुस्तकालय, प्रयोगशालाको ब्यवस्थापन, उपयोग र संरक्षणका साथै सरसफाईलाई प्राथमिकता दिन सुझाए ।
सकलापछि शान्ति सृजना पुगेको टोलीले प्रशासनिक, शैक्षिक सुधार र सामान्य मर्मत सम्हार गरे मात्रै सुधार आउने भौतिक पूर्वाधार–संरचना मर्मत सुधार गर्नतर्फ लाग्न सुझाव दिए ।
विद्यालय रहेको भू–बनोटका कारण पनि साँघुरो क्षेत्रफल हुँदा असहज भएको महशुस गरेका नगर प्रमुख न्यौपानेले नजिकै उपयोगका लागि योग्य सार्वजनिक जमिन भएमा जानकारी गराउन भनेका छन् । स्थायी रुपमै जमिनको ब्यवस्थापन नहुँदासम्म खेल मैदान प्रयोजनका लागि मात्रै आडैमा जमिन भाडामा पाइने भए नगरपालिकाले सहयोग र सहजिकरण गर्ने आश्वासन दिए ।
प्रशासनिक सुधारमार्फत पनि शैक्षिक गुणस्तरमा बृद्धि हुने भएकाले विद्यार्थी उपस्थिति हाजिरी दर बृद्धि गर्न अवलम्वन गर्नुपर्ने विधि अपनाउन सुझाए । नगर प्रमुख न्यौपानेले विद्यालय प्रधानाध्यापकलाई अधुरै रहेको दिवा खाजा भान्सा घरका लागि नगरबाट विनियोजित बजेट तथा योजना सम्झौता गरी काम सम्पन्न गर्न सम्झाए ।
अनुगमन, निरिक्षणका क्रममा सकलाका प्रत्येक कक्षाकोठामा पढाई चलेको थियो भने शान्ति सृजनामा मध्यान्तरको बेला परेकाले अधिकांश विद्यार्थी कक्षाकोठा बाहिर खेल्दै थिए ।
दुबै विद्यालयमा निरिक्षणका लागि टोली अकस्मात पुग्दा सकलामा विद्यालय ब्यवस्थापन र शिक्षक अभिभावक संघका अध्यक्षहरु पनि विद्यालयमै भेटिएपछि निरिक्षणमा सँगैं थिए । उता, मध्यान्तरको बेला परेकाले शान्ति सृजनामा पढाई चलिरहेकै अवस्थामा कक्षा अवलोकन बाहेक अन्य पक्षहरुको अवलोकन, निरिक्षण भएको थियो ।
बिद्यालयमा बेला बेला हुने असल अभ्यास र क्रियाकलापका बारेमा पनि नगर प्रमुख सहितको टोलीले जिज्ञासा राखेको थियो । नगरप्रमुख न्यौपानेले विद्यालयले सुधार गरेको शैक्षिक गुणस्तरलाई अभ्यास–अनुशरण गर्दै नतिजामुखी थप उपलब्धिको अपेक्षा गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप