खगेन्द्र पराजुली,
नवलपुर, मंसिर १४ । अभिषेक चर्च देवचुलीमा सञ्चालित प्रथम देवचुली गोल्डकपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार भएको क्वाटर फाइनलमा देशभक्त फुटबल क्लवसँग खेलेको रजहरको अभिषेक चर्चले ३-२ गोल अन्तरले जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।
अभिषेकका लागि गणेश हमाल, सुजित बुढाथोकी र अभिषेक महतोले समान १-१ गोल गरे ।
क्वाटर फाइनलबाट बाहिरिएको देशभक्तका लागि मनिष पुन र अरूण चौधरीले १-१ गोल गरे शुक्रबारको प्रतिस्पर्धामा देशभक्तका अरूण चौधरी म्यान अफ द म्याच भए ।
शनिबार आयोजक शान्तिदीप युवा क्लव र कावासोतीको सेन्ट्रल कलेज २८ बिगाहाले सेमीफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
आयोजकले पहिलो चरणमा साविक पिठौली र २८ बिगाहाले साथीभाइसँगको प्रतिस्पर्धा जितेर क्वाटरफाइनल छिरेको हो ।
बिहीबारको खेल जितेर चितवन योङ ब्वाइज प्रथम देवचुली गोल्डकपको सेमीफनइनलमा पुगेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद तथा उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
शान्तिदीप युवा क्लवको आयोजनामा देवचुली नगर रंगशालामा मंसिर ७ गतेदेखि खेल सञ्चालन भईरहेको छ ।
मंसिर २२ गतेसम्म चल्ने प्रतियोगितामा राखिएको पुरस्कार देवचुलीमा सर्वाधिक नवलपुर जिल्लामै दोस्रो धेरै राशीको पुरस्कार रहेको छ ।