खगेन्द्र पराजुली,
देवचुली, मंसिर १६ ।
प्रगतिनगरको महिला कल्याण बहुउदेशीय सहकारी संस्थाको ११ औं नेतृत्व चयनका लागि तीन सदस्यीय निर्वाचन समिति बनेको छ । शनिबार दलदलेस्थित सहारा पार्टी प्यालेसमा भएको बन्द सत्रले ढाकाराम भटराईको संयोजकत्वमा जीवन श्रेष्ठ र इन्द्रमणी भुसाल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति बनेको सहकारी संस्थाकी सचिव फूलमाया बिश्वकर्माले जानकारी दिईन् ।
बन्दसत्रले साधारण सभामा प्रस्तुत आर्थिक एवं प्रगति प्रतिवेदन र प्रस्तावित कार्ययोजनाहरु अनुमोदन गरेको छ । पास भएका प्रस्तावहरु निर्णय लेखन समिति र प्रमाणीकरण समितिले प्रमाणित गरेपछि कार्यान्वनमा आउने पनि जनाईएको छ ।
बन्दसत्र पुर्वको खुला सत्रमा अध्यक्ष रत्नमाया विश्वकर्माले गत आवको प्रगति, प्रस्तावित भावी कार्ययोजना, चालु वर्ष २०८१÷०८२ को प्रस्तावित आय–ब्यय र अनुमानित वित्तीय स्थिति विवरण पेश गरेकी थिईन् भने सचिव फूलमाया बिश्वकर्माले ३० वटा बैठकका ६६ वटा निर्णय र चालु वर्षको कार्तिकसम्म भएका कार्यहरु समेटिएको २५ वुँदे प्रतिवेदन प्रस्तुत गरिन् ।
कोषाध्यक्ष गंगा गौडेलले संस्थाको वासलात तथा वित्तीय विवरण सुुनाईन् भने लेखा सचिव अमृता पाण्डेद्धारा प्रस्तुत कोष तथा लेखा सञ्चालन– ब्यवस्थापनका असल अभ्यासको निरन्तरतासहित ९ वुँदे सुझावलाई समेटेको छ ।
२०५६ सालमा ८१ जना महिलाबाट शुरुवात भएको सहकारीमा २०८१ असारसम्म २ हजार ५ सय १२ शेयर सदस्य छन् । ९३ लाख ५३ हजार ३ सय शेयर पूँजी बनाएको सहकारीले यस वर्ष ४८ लाख ५६ हजार ६ सय २७ रुपैंया शुद्ध नाफा कमाएको छ ।
४२ लाख ३६ हजार ३ सय २८ रुपैंयाको कुल सम्पत्ति देखाईएको प्रतिवेदनमा ७ करोड ५१ लाख ९१ हजार ३ सय ५७ रुपैंया निक्षेपको वित्तीय स्थिति रहेको उल्लेख छ । सहकारीले विभिन्न ६ वटा उदेश्य शिर्षकमा करीव ९ करोड ऋण प्रवाह गरेको छ ।
सहकारीकी अध्यक्ष रत्नमाया विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । खुला सत्रकै अवसरमा संस्थाले विभिन्न विधामा मुल्यांकनका आधारमा उत्कृष्ट शेयर सदस्य, समूह, कर्मचारी लगायतलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।