देवचुली गोल्डकपः कावासोतीको योङस्टारलाई ट्राइब्रेकरमा हराउँदै गैंडाकोट सेमीफाइनलमा

0 Shares

खगेन्द्र पराजुली,
नवलपुर, मंसिर १६ ।
गैंडाकोट फुटबल क्लव देवचुली गोल्डकपको सेमीफाइनलमा पुगेको छ । आइतवारको खेलमा कावासोतीको वाटासिनो योङस्टारलाई ट्राइब्रेकरमा हराउँदै गैडाकोट एफसी सेमीफाइनलमा पुगेको हो ।
निर्धारित समयमा दुबैतर्फबाट एक–एक गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको हो ।
हाफ अगाडि गैंडाकोटका खेलाडी रञ्जन पुनको गोलले अग्रता लिएपनि हाफ पछिको खेलमा योङस्टारका देव गुरुङले गरेको गोलले बराबरी भएको थियो । दुबैतर्फका ५–५ खेलाडीले प्रहार गरेको फ्रि किक बलमध्ये २ वटा प्रहार गैंडाकोटका गोलकिपरले रोके । गैंडाकोटले प्रहार गरेमध्ये १ वल योङ स्टारका किपरले रोकेका थिए ।
प्रतियोगितामा गैंडाकोट एफसी सहित कावासोतीको सेन्ट्रल कलेज २८ विगाहा एफसी, रजहरको अभिषेक चर्च र चितवनको योङ ब्वाइज एफसी सेमीफाइनल खेल्नेछन् ।
आइतबारको प्रतिस्पर्धामा गैंडाकोटका गोलकिपर बिशाल सुनार म्यान अफ द म्याच भए ।
१८ गते मंगलबार अभिषेक चर्च र २८ विगाहाले फाइनल प्रवेशका लागि मैदानमा उत्रिनेछन् । यस्तै, १९ गते बुधबार योङ ब्वाइज र गैंडाकोट एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
नवलपुरकै दोस्रो ठूलो तथा देवचुली नगरपालिकामा सर्वाधिक राशीको पुरस्कार रहेको प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमका लागि क्रमशः २ लाख ७५ हजार र १ लाख ५० हजार रुपैंया पुरस्कार रहेको छ भने सेमीफाइनलमै रोकिएका दुई टीमका लागि २५–२५ हजार नगद पुरस्कार रहेको छ ।
देवचुली १० पृथ्वीनगरको शान्तिदीप युवा क्लवको आयोजनामा पृथ्वीनगरस्थित नगर रंगशालामा मंसिर ७ गतेदेखि पहिलो संस्करणको देवचुली गोल्ड फुटबल प्रतियोगिता सञ्चालित छ । मंसिर २२ गते फाइनल प्रतिस्पर्धा हुने तालिका छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप