प्रथम देवचुली गोल्डकपः गैडाकोट एफसी र अभिषेक चर्च फाइनल भिड्ने

0 Shares

खगेन्द्र पराजुली,
नवलपुर, मंसिर २० ।
प्रथम देवचुली गोल्डकपको फाइनलमा गैंडाकोट एफसी र अभिषेक चर्च भिड्ने भएका छन् । शनिबार देवचुली १० पृथ्वीनगर स्थित रंगशालामा दिउँसो १ वजे खेल शुरु हुने आयोजक शान्तिदीप युवा क्लवले जनाएको छ ।
२८ विगाहा कावासोतीसँगको प्रतिस्पर्धा जितेर अभिषेक चर्च फाइनल प्रवेश गरेको हो भने गैंडाकोट एफसी फिफाको नियमानुसार वक ओभरका आधारमा फाइनल प्रवेश गरेको हो ।
बुधबार खेल्नुपर्ने सेमीफाइनलमा गैंडाकोटसँगै खेल्ने टोली चितवन योङब्वाइजले आयोजकले तोकेको खेल समयभन्दा धेरै ढिलो उपस्थित भएपछि अफिसियल–रेफ्री, आयोजक–सचिवालय र दुवै टीम मेनेजरको रोहावरमा फाइनल पुग्ने टीमको छनोट र घोषणा गरिएको आयोजकको स्पष्टोक्ति रहेको छ ।
आयोजकका अनुसार बाटोघाटोमा आउन सक्ने समस्याका कारण २ बजे उपस्थितिको समय उल्लेख गरिएपनि अन्तिम ३ बजेसम्म उपस्थित हुनुपर्ने थियो । तर, चितवन योङब्वाइज ४ वज्न १० मिनेट बाँकी रहँदा खेल मैदान छिरेको थियो । योङ ब्यवाइज मैदानमा प्रवेश गरी खेल्नका लागि जर्सीमा तयार भएका थिए । तर, समयमै आएको गैंडाकोटले पुरा खेल खेल्ने समय पनि अपुग भएको भन्दै खेल्न नसक्ने भनेपछि प्रतियोगिता ब्यवस्थापकले नियमानुसारको निर्णय गर्नुपरेको पनि आयोजकको दावी छ ।
२२ गते हुने फाइनल खेल हेर्न दर्शकका लागि अग्रिम कायम गरिएको प्रवेश शुल्क १०० बाट घटाएर ५० रुपैंया बनाईएको पनि आयोजकले जनाएको छ ।
शान्तिदीप युवा क्लवले शुरुवात गरेको प्रथम देवचुली गोल्डकप जिल्लाकै दोस्रो ठूलो र देवचुलीकै सर्वाधिक धनराशी पुरस्कारको प्रतियोगिता भएको आयोजकको दावी छ । देवचुली गोल्ड कपमा प्रथम २ लाख ७५ हजार, दोस्रो १ लाख ५० हजार र सान्त्वना २ टीमलाई पच्चीस हजार राशीको पुरस्कार रहेको छ ।
प्रतियोगितामा छिमेकी जिल्ला नवलपरासी र चितवन सहित गृहजिल्ला नवलपुरका १४ टीमले भाग लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप