मित्र खरेल,
गैंडाकोट, मंसिर २१ । गैंडाकोट वडा नं. १६ का ५५ घरधुरीमा वडाले सिरक वितरण गरेको छ । वडाभित्रका गरिव, विपन्न तथा दलित परिवारका ५५ घरधुरीलाई टोलमै पुगेर वडाले सामग्री हस्तान्तरण गरेको हो ।
लक्षित वर्ग समुदायको शिर्षकमा वडाले विनियोजन गरेको बजेटमध्येको १ लाख १० हजार मुल्य बराबरको फाइवर सिरक बाँडिएको वडाध्यक्ष विनोदकुमार मल्लले जानकारी दिए ।
वडा नं. १६ झराही खोलाको आसपास बस्ने अधिकांश सुकुम्बासी, दलित समुदाय र गरिव–विपन्न पनि भएकाले त्यस्ता परिवार र घरधुरी सर्वेक्षण गरी लक्षित बर्गका लागि सहयोग गर्ने गरेको पनि मल्लले बताए ।
पेशा ब्यवसाय नभएका अधिकांश मजदुरी गरेर जीवन गुजारा गर्ने परिवारलाई जाडो र चिसोबाट जोगाउन वडाले दायित्व निर्वाह गरेको उनको कथन थियो ।
सामग्री पाएका लाभान्वितले जाडोको सुरुमै सिरक पाउँदा रातभरिको चिसो र शितबाट बच्चाबच्ची जोगाउन सजिलो हुने भयो भन्दै खुशी भएका थिए ।