खगेन्द्र पराजुली,
देवचुली, मंसिर २१ । मंसिर २४ देखि देवचुली १५ प्रगतिनगरको पशुपति साङ्गवेदमा हुने बेदान्त सन्त सम्मेलन तथा धनधान्यचल महायज्ञको उदेश्य प्राप्तिमा पुरोहित समाज नवलपुरले सघाउने भएको छ । चौतर्फी आक्रमणमा परेको हिन्दु सनातन धर्मको रक्षार्थ, सुसंस्कृतयुक्त ज्ञान, आचरण र वेदको मर्म, जीवन, जगतको सार–भावको सन्देश प्रवाह गर्ने मुख्य उदेश्यमा पुरोहित समाज नवलपुरले खेल्नुपर्ने भूमिका निर्वाह गरिने समाजका अध्यक्ष ऋषिराज वाग्लेले स्पष्ट पारे ।
पशुपति साङ्गवेद संस्कृत माविका पुर्व विद्यार्थी र पुर्व शिक्षक समेत रहेका हाल पुरोहित समाज नवलपुरका कोषाध्यक्ष भोजराज रिमालले यहाँको गुरुकुलीय संस्कृत विद्यालय सञ्चालनको निम्ति समाजले निरन्तर योगदान पुर्याएको स्मरण गर्दै पुर्व विद्यार्थी र पुरोहित समाजको प्रभावकारी सक्रियता रहने बताए ।
यज्ञस्थल पशुपति साङ्गवेद संस्कृत आवासीय माविको परिसरमा बिहीबार भेला भएका पण्डितहरुले आ–आफ्ना सुझाव सहित संस्थागत र ब्यक्तिगत रुपमा मन, बचन, कर्मले सघाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
महायज्ञ ब्यवस्थापन पक्ष र पुरोहित समाज नवलपुरबीचको भेलामा यज्ञ सम्पादन मुल समिति सचिवालय, पशुपति बैदिक आश्रमका पदाधिकारी, विद्यालय ब्यवस्थापन र प्रशासन प्रमुख प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।
पशुपति बैदिक आश्रम र पशुपति संस्कृत साङ्गवेद माविको आयोजनामा मंसिर २४ देखि ३० गतेसम्म तृतीय अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवं सतचण्डी धनधान्यचल ज्ञान महायज्ञ हुदैछ । यहाँ पढ्ने विद्यार्थी बटुकको शिक्षा–दिक्षा, भोजन, आवास ब्यवस्थापनका साथै मठ, मन्दिर, गौशाला लगायत पञ्चशाला मर्मत–सम्भार, संरक्षण, सम्वद्र्धन हेतु सनातन हिन्दु धर्मको जगेर्ना, धर्मप्रतिको जागरणका लागि यहाँ वर्षेनी महायज्ञ हुने गर्दछ ।