खगेन्द्र पराजुली,
मंसिर २५, देवचुली । मंसिर ३० गतेसम्म चल्ने बेदान्त सन्त सम्मेलन तथा धनधान्यचल महायज्ञ प्रगतिनगरमा शुरु भएको छ । देवचुली १५ मा रहेको पशुपति साङ्गवेद आवासीय संस्कृत मावि पशुपति बैदिक आश्रम परिसरमा सोमबार सन्त सम्मेलन तथा सतचण्डी धनधान्यचल महायज्ञको धार्मिक समारोहकाबीच उद्घाटन भएको हो ।
धर्मानुरागी स्थानीय महानुभाव, टोल संघसंस्था, आमा समूहको उल्लेख्य सहभागिता रहेको धार्मिक समारोह उद्घाटन हुनुअगाडि कलश सहितको शोभायात्राले प्रगतिनगर क्षेत्र परिक्रमा गरेको थियो ।
यज्ञ सम्पादन मूल समितिका संयोगजक उद्योगबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पशुपति बैदिक आश्रमका संरक्षक अध्यक्ष संहिता शास्त्री अर्जुनप्रसाद बास्तोलाले सम्पूर्ण बिश्व मानव जातिको ज्ञानको सागर बेद भएको बताए ।
यज्ञ सम्पादन मूल समितिका सह संयोजक देवी प्रसाद खनालले उपस्थित धर्मानुरागी महाुभावलाई स्वागत गरेका थिए । स्वागत भनाई राखेका ज्ञवालीले सन्त साधुबाट प्राप्त हुने ज्ञानले मात्रै पनि स्वजागरण उत्पन्न गर्न सक्ने भएकाले प्रवचन श्रवण गर्नका लागि आमन्त्रण गरे ।
बेदान्त सन्त सम्मेलन तथा सतचण्डी धनधान्यचल महायज्ञ शुभारम्भ समारोहको सञ्चालन गरेका यज्ञ सम्पादन मूल समितिका सचिव हा्ेमनाथ जैसीले मंसिर ३० गतेसम्मका दैनिक नियमित हुने पूजा–अर्चना, भजन किर्तन, धन–धान्य दान–समर्पण, प्रवचन लगायत तुलादान–चुडाकर्म, बटुक भोजन दान र फूलप्रसाद टीका ग्रहणको तालिका जानकारी गराए ।
यहाँ सञ्चालित आश्रम र विद्यालयको आयोजनामा लगातार तेस्रो वर्ष बेदान्त सन्त सम्मेलन लागेको हो । अखिल नेपाल देशीय बेदान्त सन्त सम्मेलनको नाममा हुने प्रवचनमा विभिन्न पीठका पिठाधिसहरुको उपस्थिति रहनेछ । सन्तहरुबाट प्रवाह हुने ज्ञानसन्देश मानव कल्याणका लागि सर्वोपयोगी हुने भनाइ ब्यक्त गरेका यज्ञ सम्पादन समितिका संयोजक उद्योगबहादुर श्रेष्ठले महायज्ञमा प्राप्त दान–सहयोगबाट आवासीय रुपमा संस्कृत शिक्षा पढ्ने वटुक विद्यार्थीको भोजन, आवास ब्यवस्थापन तथा यस परिसरभित्र रहेका शिवालय, देवालय, मठ–मन्दिरको जिणोद्धार, मर्मत–सम्भारमा उपयोग गरिने बताए ।