खगेन्द्र पराजुली,
पुस १, देवचुली । देवचुली ११ को सूर्यकिरण खेल मैदानमा भएको सोमबारको उद्घाटन खेल देवचुली वडा नं. १६ ले जितेको छ । देवचुली ९ र १६ बीच भएको पहिलो खेलमा देवचुली १६ ले देवचुली ९ लाई २–० गोल अन्तरले हराउँदै क्वाटर फाइनल चरण प्रवेश गरेको छ ।
देवचुली १६ को जितका लागि जर्सी नं. ९ का सरोज घिमिरे र जर्सी नं. ७ का दिवस श्रेष्ठले एक एक गोल गरे ।
हाफ अगाडी गोलरहित वराबरी रहेको प्रतिस्पर्धामा देवचुली १६ ले हाफ पछिको खेलमा लगातार २ गोल गर्दै अगिल्लो चरण प्रवेशको मौका बनाएको हो । देवचुली १६ सँगको प्रतिस्पर्धामा हार बेहारेको वडा नं. ९ भने समूह चरणबाटै बाहिरिएको छ । सोमबार भएको पहिलो उद्घाटन खेलमा देवचुली १६ का कप्तान समेत रहेका दोस्रो गोलकर्ता दिवस श्रेष्ठ म्यान अफ द म्याच भए ।
मंगलबार देवचुली नगरपालिकाको वडा नं. १ र १२ बीच खेल हुने तालिका छ ।
देवचुली ११ पृथ्वीनगरको पृथ्वी समाज सेवा क्लवले सातौं वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको हो । क्लवको ३१ औं वार्षिकोत्सवको अवसर पारेर स्वर्गीय रामबीर पुलामीको स्मृतिमा आयोजित प्रतियोगितामा देवचुलीभित्रका १६ टीमको सहभागिता रहेको छ ।
नाइन ए साइड प्रतियोगितामा प्रथम पुरस्कार नगद ६१ हजार १ सय ११ रुपैयाँ र दोस्रो पुरस्कार नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।