खगेन्द्र पराजुली,
पुस १, देवचुली । देवचुली नगरपालिका वडा नं. ११ का अध्यक्ष एवं नगर प्रवक्ता तिलप्रसाद काफ्लेले स्थानीय स्तरमा हुने खेल गतिविधिले प्रतिभा पहिचान र खेलाडीको क्षमता बिकासमा महत्व राख्ने बताएका छन् । पृथ्वी समाज सेवा क्लवको आयोजनामा सोमबारदेखि सुरु भएको सातौ वडास्तरीय नकआउट फुटबल कप प्रतियोगिताको उद्घाटन गरेका नगर प्रवक्ता काफ्लेले अनुशासित, मर्यादित र मित्रवत् ढंगले खेल प्रदर्शन गर्न पनि खेलाडीलाई प्रोत्साहित गरे ।
क्लवको ३१ औं वार्षिकोत्सवको अवसर पारेर स्वर्गीय रामबीर पुलामीको स्मृतिमा सूर्य किरण आधारभूत विद्यालयको खेल मैदानमा सोमबारबाट सुरु भएको नाइन ए साइड फुटबल प्रतियोगिता पुस १५ गतेसम्म चल्ने तालिका छ ।
क्लवका अध्यक्ष बुद्धिबहादुर लुङ्गेलीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पृथ्वी समाज सेवा क्लवका निवर्तमान अध्यक्ष एवम् सूर्य किरण आधारभूत विद्यालयका अध्यक्ष रेमबहादुर ठाडामगरले स्वागत गरेका थिए ।
देवचुली ९ र १६ बीच भएको प्रतियोगिताकै पहिलो खेलमा वडा १६ ले जित निकाल्दै क्वाटर फाइनल चरणमा प्रतिस्पर्धा गर्ने मौका सुनिश्चित गरेको छ । देवचुली १६ का सरोज घिमिरे र दिवस श्रेष्ठले गरेको एक–एक गोलको योगदानले वडा नं. १६ लाई अघिल्लो चरण प्रवेशको अवसर जुरेको हो । देवचुली १६ ले आफ्नो खातामा २ गोल जम्मा गर्दै क्वाटर फाइनल प्रवेश गर्दा वडा नं. ९ भने गोलरहित अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा नगरभित्रका वडाहरुबाट १६ टीमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम र द्धितीय हुने टीमले क्रमश ६१ हजार १ सय ११ र ३५ हजार ५ सय ५५ रुपैंया राशीको नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था रहेको खेल संयोजक जसबहादुर लुङ्गेलीले जनाएका छन् । पुस २ गते मंगलबार दिउँसो ३ बजे देवचुली १ र १२ को टीमको खेल हुने तालिका छ ।