खगेन्द्र पराजुली,
पुस २, देवचुली । देवचुली १२ लाई हराउँदै देवचुली १ क्वाटरफाइनल चरण प्रवेश गरेको छ । पृथ्वी समाज सेवा क्लवको सातौं वडास्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलबारको प्रतिस्पर्धामा देवचुली १ ले १२ लाई ५–२ को फराकिलो गोल अन्तरले हराउँदै जित निकालेको हो ।
देवचुली १ को जितका लागि सन्दिप मल्ल ठकुरीले २, रोशन गुरौ र निशान महतोले एक एक गोल गर्दा देवचुली १२ का खेलाडीबाट उपहारस्वरुप पाएको आत्मघाती एक गोल अंक सहित ५ गोलको योगफल जोड्यो ।
पहिलो चरण प्रतिस्पर्धाबाट बाहिरिएको देवचुली १२ का इभन सारु एक्लैले २ गोल गरेका थिए ।
मंगलबार भएको खेलमा देवचुली १ का सन्दिप मल्ल ठकुरी म्यान अफ द म्याच भए ।
बुधबार देवचुली १० र देवचुली १७ निलो बीच खेल हुने तालिका छ ।
देवचुली ११ पृथ्वीनगरको पृथ्वी समाज सेवा क्लवले सातौं वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको हो । क्लवको ३१ औं वार्षिकोत्सवको अवसर पारेर स्वर्गीय रामबीर पुलामीको स्मृतिमा आयोजित प्रतियोगितामा देवचुलीभित्रका १६ टीमको सहभागिता रहेको छ ।
नाइन ए साइड प्रतियोगितामा प्रथम पुरस्कार नगद ६१ हजार १ सय ११ रुपैयाँ र दोस्रो पुरस्कार नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।