खगेन्द्र पराजुली,
पुस ३, देवचुली । देवचुली ११ को सूर्यकिरण खेल मैदानमा भएको बुधबारको खेलमा देवचुली वडा नं. १० ले जित निकालेको छ । देवचुली १७ निलोसँगको प्रतिस्पर्धामा १–० गोल अन्तरले हराउँदै देवचुली १० को टीम क्वाटर फाइनल चरण प्रवेश गरेको छ ।
देवचुली १० को जितका लागि जर्सी नं. ७ का राजन पाठकले एक गोल गरे । हाफ अगाडीको सत्रौ मिनेटमा राजनले गरेको एक गोल नै जितका लागि निर्णायक बन्यो ।
देवचुली १० सँगको प्रतिस्पर्धामा हार बेहारेको वडा नं. १७ निलो समूह चरणबाटै बाहिरिएको छ । बुधबारको खेलमा देवचुली १० का हिमांशु घर्ती मगर म्यान अफ द म्याच भए ।
विहीबार देवचुली नगरपालिकाको वडा नं. १५ र १७ रातोबीच खेल हुने तालिका छ ।
देवचुली ११ पृथ्वीनगरको पृथ्वी समाज सेवा क्लवले सातौं वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको हो । क्लवको ३१ औं वार्षिकोत्सवको अवसर पारेर स्वर्गीय रामबीर पुलामीको स्मृतिमा आयोजित प्रतियोगितामा देवचुलीभित्रका १६ टीमको सहभागिता रहेको छ ।
नाइन ए साइड प्रतियोगितामा प्रथम पुरस्कार नगद ६१ हजार १ सय ११ रुपैयाँ र दोस्रो पुरस्कार नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।