खगेन्द्र पराजुली,
पुस ४, नवलपुर । नवलपुरका आठै पालिकाले कावासोतीमा वार्षिक समिक्षा गोष्ठी गरेका छन् । जिल्ला समन्वय समिति नवलपुरले आयोजना गरेको गत आर्थिक वर्ष २०८०–०८१ को समिक्षामा जिल्लास्थित आठै पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिले प्रस्तुतिकरण राखेका थिए ।
एउटै साझा मञ्चमा भएको समिक्षामा प्रस्तोताहरुले भए गरेका बिकास निर्माणका प्रगति, पालिकाले अवलम्वन गरेका असल अभ्यास, समस्या चुनौतीका साथै स्थानीय सरकार सञ्चालनसँग सम्वन्धित निर्माण गरिएका ऐन, कानून र अध्यादेश जस्ता विषयलाई प्रस्तुतिकरणमा समावेश गरेका थिए ।
वार्षिक समिक्षा प्रस्तुत गरेका अधिकांश प्रस्तोताहरुले नवलपुरको भौगोलिकता, आन्तरिक स्रोत साधन, जनशक्ति लगायतका विविधताका कारण विकास निर्माण र सेवा प्रवाहमा देखिएका फरक फरक समस्या र चुनौती बाहेक स्थानीय तहले अनुभुत गरेका साझा समस्या गतिशिलताको बाधक भएको निष्कर्ष सुनाए ।
संघ र प्रदेशका बाझिएका नीति तथा कानून, संघ र प्रदेशबाट विनियोजन हुने टुक्रे बजेट, ति टुक्रे वजेट कार्यान्वयनमा समन्वयको कमी, आन्तरिक राजस्व स्रोतको अभाव, नदीजन्य पदार्थ उत्खनन्, संकलन र ब्यवस्थापनमा कठिनाई जस्ता थुप्रै जटिलता स्थानीय तहले अनुभूत गरेका समस्याका रुपमा देखाईएको छ ।
उनीहरुले यसबाहेक कर्मचारी अभाव, जनप्रतिनिधि र कर्मचारीको क्षमता, सीप बिकास लक्षित तालिमको कमीका कारण पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको साझा निष्कर्ष सहितको धारणा प्रस्तुत गरेका हुन् ।
भौतिक पूर्वाधारलाई मात्रै बिकासको सूचकका रुपमा मान्ने परम्पराका कारण पनि अपेक्षित उपलब्धि प्राप्ति हुन नसकेको पाईएको छ ।
समस्या चुनौतीका बावजुत पनि पालिकाहरुले केही क्षेत्रहरुमा गरेका असल अभ्यास अनुकरणीय रहेको बताएका छन् ।
हुप्सेकोट गाउँपालिकाको नवजात छोरी बैंक खातामा गाउँपालिकाको लगानी, उत्पादन र विक्रीका आधारमा दूधमा प्रतिलिटर २० रुपैंया अनुदानलाई असल अभ्यासका रुपमा उल्लेख गरिएको छ भने बौदीकाली गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थी लक्षित मासिक छात्रवृत्तिलाई अनुकरणीय असल अभ्यासका रुपमा लिएको छ ।
मध्यविन्दु नगरपालिकामा खुसी पाठ्यक्रम, फोहोरको दिगो ब्यवस्थापन, देवचुली नगरपालिकाले सञ्चालनमा ल्याएको पशु आहारा साइलेज उद्योग, नगर अस्पतालमा २४ सै घण्टे सेवा र विशेषज्ञ डाक्टर सहितको सेवा, कावासोती नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माण र गैंडाकोटले शुरुवात गर्न थालेको निशुल्क शिक्षा जस्ता नीति तथा कार्यक्रमलाई असल अभ्यासका रुपमा कार्यान्वयन र निरन्तरताका प्रयत्न भएको सुनाए ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश साँसद रोशन बहादुर गाहाले सुझाव सहितको प्रतिक्रिया टिप्पणी गरे ।
जनताले प्रत्याभूति र महशुस गर्ने गरी परिणाममुखी काम हुन नसकेकोप्रति आक्रोश ब्यक्त गरेकी अर्का प्रदेश साँसद दमयन्ती रुचालले तिनै तहका सरकारको आलोचना गर्नुका साथै पालिकालाई सुझाव पनि दिईन् ।
पालिकाको समिक्षा गोष्ठीलाई विट मार्दै अन्त्यमा बोलेका जिसस प्रमुख बाबुराम बिश्वकर्माले नीति तथा कानूनको अस्पष्टताको निरुपणमा पहल गर्न र जिल्लाभित्रैका पालिकामा भएका असल र उदाहरिणीय कामहरुका्े अनुसरणको परम्परा बसाल्न आग्रह गरे ।
समिक्षामा जिल्लास्थित आठ वटै पालिकाको प्रस्तुतिकरण भएको थियो । विनयी त्रिवेणी, हुप्सेकोट, बौदीकाली, देवचुलीका प्रमुख प्रशासकीय अधिकृत, गैंडाकोट, कावासोती, मध्यविन्दु र बुलिङटारबाट प्रतिनिधित्व गरेका शिक्षा अधिकृत एवं प्रतिनिधिले प्रस्तुतिकरण राखेका थिए ।
समिक्षामा पालिका प्रमुख उपप्रमुखमध्ये एक जना जनप्रतिनिधिको पनि सहभागिता थियो । जिल्ला समन्वयका जनप्रतिनिधि–कर्मचारी र क्रियाशील पत्रकारहरु समेतको उपस्थितिमा भएको कार्यक्रममा समन्वय उपप्रमुख शकुन्तला लम्सालले स्वागत गरेकी थिईन् ।