खगेन्द्र पराजुली,
पुस ५, देवचुली । देवचुली ११ पृथ्वीनगरमा जारी नाइन ए साइड फुटबल प्रतियोगिताको पाँचौ दिनको खेलमा आयोजक सेतो क्वाटरफाइनलमा प्रवेश गरेको छ । सूर्यकिरण खेल मैदानमा शुक्रबार भएको प्रतिस्पर्धामा वडा नं. २ लाई ३–१ गोल अन्तरले हराउँदै आयोजक देवचुली ११ को सेतो टोली क्वाटर फाइनल प्रवेश गरेको हो ।
देवचुली ११ का लागि समिर श्रेष्ठले २ र इशक बिकले १ गोल गरे । हाफ अघि ईशकले खाता खोल्दा हाफ पछि समिरले २ गोल गरेका हुन् । पहिलो चरणबाटै बाहिरिनुपरेको वडा नं. २ का लागि विजय राईले सान्त्वना स्वरुप १ गोल निकाले । शुक्रबारको खेलमा वडा नं. ११ का समिर श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । भोलि शनिबार दुई वटा खेल हुने तालिका छ । भोलिको पहिलो खेल देवचुली १४ र देवचुली ११ रातोबीच हुनेछ भने दोस्रो प्रतिस्पर्धा देवचुली ४ र देवचुली १३ बीच हुनेछ ।
देवचुली ११ पृथ्वीनगरको पृथ्वी समाज सेवा क्लवले सातौं वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको हो । क्लवको ३१ औं वार्षिकोत्सवको अवसर पारेर स्वर्गीय रामबीर पुलामीको स्मृतिमा आयोजित प्रतियोगितामा देवचुलीभित्रका १६ टीमको सहभागिता रहेको छ ।
नाइन ए साइड प्रतियोगितामा प्रथम पुरस्कार नगद ६१ हजार १ सय ११ रुपैयाँ र दोस्रो पुरस्कार नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
भिडियो समाचार लिङ्क ।