खगेन्द्र पराजुली,
पुस ६, नवलपुर । देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्ने, स्रोतहरु सुक्ने र पानी विस्थापित जस्ता जोखिम र चुनौती रहेको बताएका छन् ।
देशभरिकै उत्कृष्टमध्येको खानेपानी संस्था प्रगतिनगर खानेपानी संस्थाको २७ औं साधारण सभामा बोलेका नगरप्रमुख न्यौपानेले त्यस्ता जोखिमबाट जोगिन पानी पुनर्भरण सहितका ड्याम, रिजर्भट्याङ्कीहरु आवश्यक रहेको वताए ।
संस्थाको नेतृत्व र ब्यवस्थापनमा केन्द्रित रहेर बोलेका नगरप्रमुख न्यौपानेले नेतृत्व लिने भन्दा पनि नेतृत्वलाई सफल पार्न गर्नुपर्ने सकारात्मक सहयोग र नेतृत्वले कुशल नेतृत्व प्रदान गर्ने विषय महत्वपूर्ण हुने टिप्पणी गरे ।
वर्तमान उपभोक्ता समितिको कार्यकाल सकिन लागेको वेलामा खानेपानी उपभोक्ता समिति र नेतृत्वको खुलेर प्रशंसा गरेका नगरप्रमुख न्यौपानेले नेतृत्व चयन गर्दा संस्थाले हासिल गरेका उपलब्धिको रक्षा गर्ने खालको नेतृत्व चयन गर्न सुझाव ब्यक्त गरे ।
शनिवार नगरपालिकाको सभाहलमा प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २७ औं वार्षिक साधारण सभा भएको हो । सभामा खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुसालको कार्य सम्पादन प्रतिवेदन, कोषाध्यक्ष गुना भण्डारीको आर्थिक प्रतिवेदन, लेखा संयोजक रत्ना भुसालले आन्तरिक लेखा समितिको प्रतिवेदन र सुरक्षा उपसमितिका संयोजक लोकनाथ अर्यालले खानेपानीको स्वच्छता, शुद्धता कायम राख्न गरिएका प्रयत्न सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका सचिव इन्द्रमणी भुसालको सञ्चालनमा भएको खुला सत्रलाई उपाध्यक्ष दुर्गादेवी विष्टले स्वागत गरेकी थिईन् भने ब्लक प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, विशिष्ट पाहुना लगायतले शुभकामना ब्यक्त गरेका थिए ।