आयोजक रातो र देवचुली १३ क्वाटरफाइनल छिरे

0 Shares

खगेन्द्र पराजुली,
पुस ६, देवचुली । देवचुली ११ रातो र देवचुली १३ सातौं देवचुली वडास्तरीय फुटबल कपको क्वाटर फाइनल चरण प्रवेश गरेका छन् । सूर्य किरण खेलक मैदानमा शनिवार भएका दुई खेलमध्ये पहिलो खेलमा वडा नं. १४ लाई ३–२ गोल अन्तरले हराउँदै आयोजक रातो र वडा नं. ४ झाक्रेलाई ४–२ गोल अन्तरले पराजित गर्दै वडा नं. १३ दलदले क्वाटरफाइनल प्रवेश गरेका हुन् ।
पहिलो खेलमा आयोजक रातोका तर्फबाट सन्देश रानाले २ र विश्व श्रेष्ठले १ गोल गर्दा देवचुली १४ का शेखर आले र सुनिल थापाले १–१ गोल गरेका थिए ।
यस्तै, दोस्रो खेलमा दलदलेका चेतन मगरले  र ओमचन्द्र महतोले २-२ गोल गरे । सुरुवाती गोल गरेर पनि खेल नियन्त्रणमा राख्न नसक्दा पहिलो चरणबाटै बाहिरिनुपरेको वडा नं. ४ का बिशाल बरामले २ गोल गरे ।
पहिलो खेलमा देवचुली ११ का प्रितम थापा र दोस्रो खेलमा देवचुली १३ का चेतन मगर म्यान अफ द म्याच भए । भोलि आइतबार पहिलो समूह चरणको अन्तिम खेल देवचुली ५ र ७ बीच हुने तालिका छ ।
देवचुली ११ पृथ्वीनगरको पृथ्वी समाज सेवा क्लवले सातौं वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको हो । क्लवको ३१ औं वार्षिकोत्सवको अवसर पारेर स्वर्गीय रामबीर पुलामीको स्मृतिमा आयोजित प्रतियोगितामा देवचुलीभित्रका १६ टीमको सहभागिता रहेको छ ।
नाइन ए साइड प्रतियोगितामा प्रथम पुरस्कार नगद ६१ हजार १ सय ११ रुपैयाँ र दोस्रो पुरस्कार नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप