विद्यार्थीकै मानसिकतामा विदेश सेट भएकाले स्वदेशमै रोक्न सकिएन–नगर प्रमुख न्यौपाने

0 Shares

खगेन्द्र पराजुली,
पुस ८, नवलपुर ।  देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले विद्यार्थीकै मानसिकतामा विदेश सेट भएका कारण चाहेर पनि युवा विद्यार्थीलाई स्वदेशमा रोक्न नसकिएको वताएका छन् । रजहरको देवचुली माविको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा आयोजित समारोहमा प्रमुख वक्ताका रुपमा बोलेका नगर प्रमुख न्यौपानेले यस्तो स्थिति बन्नुमा राष्ट्रिय परिस्थिति नै कारकका रुपमा रहेको टिप्पणी गरे ।
उनले यस्तो परिस्थिति विकास हुनुमा स्थानीय स्तरबाट कुनै पनि त्रुटि वा कमजोरी नरहेको जिकिर गरे । यद्यपि, नगरको भूमिकाको अभावका कारण वनेका असहजतामा नगर प्रमुखका हिसावले सच्चाउन र नेतृत्व लिन आफू तयार रहेको बताए ।
नगर प्रमुख न्यौपानेले नगरपालिकाले विद्यालय समायोजनलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै लगेको बताए । अधिकांश सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्याको कमीका कारण ब्यवस्थापन–सञ्चालनमा कठिनाई भएको बताएका उनले रहरले नभई बाध्यताले विद्यालय समायोजनलाई महत्व दिईएको स्पष्ट पारे । विद्यालय समायोजनले शैक्षिक गुणस्तर, भौतिक तथा शैक्षिक स्थितिलाई सुधार्न सकिने तर्क गरे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टोपराज कोइरालाको अध्यक्षतामा भएको उत्सवमय कार्यक्रममा शैक्षिक तथा अतिरिक्त गतिविधिमा उत्कृष्ट मुल्यांकनमा पर्न सफल विद्यार्थी, शिक्षक सम्मानित–पुरस्कृत भएका छन् ।
वार्षिकोत्सव समारोहमा प्रधानाध्यापक विश्वराज पौडेलले विद्यालयको समग्र शैक्षिक प्रगति, समस्या, चुनौती र आधारभूत आवश्यकताका योजनामा सम्वन्धित निकायको सहयोग र सहभागिताको अपेक्षा सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समारोहकै अवसरमा थुप्रै स्थानीय दाताहरुबाट शैक्षिक सहयोगका लागि स्थापित अक्षयकोषबाट विद्यालयले छनोट गरेका मेधावी, जेहेन्दारका साथै गरिव विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
समारोहमा स्थानीय जनप्रतिनिधि, सामाजिक–सामुदायिक संघसंस्था, विद्यार्थी–अभिभावक प्रतिनिधिले वार्षिकोत्सव सफलताको शुभकामना सहित अप्ठ्यारा, चुनौती समस्या र अपेक्षा सहितका भनाई राखेका थिए ।
कार्यक्रममा विद्यार्थी शिक्षकहरुले फरक फरक सास्कृतिक प्रस्तुतिका साथै नृत्यका माध्यमबाट मनोरञ्जन दिलाएका थिए ।

भिडियो लिङ्क समाचार यहाँ छ । https://fb.watch/wFRRwFhloB/

प्रतिक्रिया
सम्बन्धित समाचार थप