खगेन्द्र पराजुली,
पुस ११, देवचुली । देवचुली ११ को आयोजक सेतो सेमीफाइनल छिरेको छ । आज बिहीबार भएको देवचुली वडा कपको अन्तिम क्वाटर फाइनलमा देवचुली ७ लाई हराउँदै देवचुली ११ को टोली सेमीफाइनल छिरेको हो । निर्धारित समयमा दुवैतर्फबाट २–२ गोलको वरावरी भएपछि ट्राइव्रेकरमा ४–३ को अन्तरका साथ देवचुली ११ ले क्वाटरफाइनल जितेको हो ।
दुवैतर्फका ५–५ जना खेलाडीले हिर्काएको वलमध्ये एक बल देवचुली ११ का गालरक्षकले रोक्न सफल भएका थिए भने एक जना खेलाडीले प्रहार गरेको बल बाहिर गएको थियो । देवचुली ७ का गोलरक्षकले भने प्रतिस्पर्धी टीमका खेलाडीले हिर्काएको एक गोल रोकेका थिए ।
निर्धारित समयमा देवचुली ११ का समिर श्रेष्ठ एक्लैले २ गोल गरेका थिए भने देवचुली ७ का साजन बुढाथोकी र आकाश थापाले १–१ गोल गरेका थिए । अन्तिम क्वाटर फाइनलमा देवचुली ११ का समिर श्रेष्ठ म्यान अफ द म्याच भए ।
विहीबारको प्रतिस्पर्धा सकिएसँगै क्वाटर फाइनल सकिएर सेमीफाइनलको नयाँ समिकरण बनेको छ । अन्तिम क्वाटर फाइनल जितेको देवचुली ११ आयोजक सेतोले देवचुली १६ सँग सेमीफाइनल भेट पक्का गरेको छ । देवचुली १० लाई हराएर सेमीफाइन पुगेको देवचुली १६ रजहर र आयोजक सेतो पुस १३ गते शनिबार मैदानमा उत्रिनेछन् । भोलि शुक्रबार पहिलो सेमीफाइनल देवचुल १ केउरेनी र देवचुली १३ दलदलेबीच हुनेछ ।
देवचुली ११ पृथ्वीनगरको पृथ्वी समाज सेवा क्लवले आयोजना गरेको प्रतियोगिता सूर्य किरण खेल मैदानमा पुस १ गतेदेखि चलिरहेको छ । क्लवको ३१ औं वार्षिकोत्सवको अवसर पारेर स्वर्गीय रामबीर पुलामीको स्मृतिमा आयोजित प्रतियोगिता पुस १५ सम्म चल्नेछ ।
नाइन ए साइड प्रतियोगितामा प्रथम पुरस्कार नगद ६१ हजार १ सय ११ रुपैयाँ र दोस्रो पुरस्कार नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था रहेको छ ।