खगेन्द्र पराजुली,
पुस १४, नवलपुर । देवचुली ९ बिशालटारस्थित कालिका माविले विविध गतिविधि सहित स्थापनाको ४१ औं वार्षिकोत्सव मनाएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसालको अध्यक्षता तथा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा विद्यालयले ४१ औं स्थापना दिवस एवं अभिभावक दिवस मनाएको हो ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीका लेख, रचना, सिर्जना समेटिएको ८६ पृष्ठको पहिलो अंक कालिका बाल प्रतिभा बिमोचन, विद्यालयमा सेवारत रहदारहदै निवृत्त भएका प्रधानाध्यापक समेत रहेका शिक्ष्ँक रेशम कोइरालाको विदाई, विद्यार्थी, शिक्षक–कर्मचारी, अभिभावक एवं सहयोगी सम्मान र पुरस्कार वितरण लगायत विद्यार्थीका साँस्कृतिक तथा सिर्जनात्मक कलाका प्रस्तुति–प्रदर्शनी लगायत मञ्चीय गतिविधि सहित अभिभावक दिवस सम्पन्न भएको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक डिलप्रसाद भुसाल दिनेशको स्वागत तथा प्रधानाध्यापक नवराज घिमिरेद्धारा प्रस्तुत विद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक र आर्थिक विवरण समेटिएको वार्षिक प्रतिवेदन सुनेका नगरप्रमुख न्यौपानेले विद्यालयका आधारभूत आवश्यकतामा नगरपालिकाले सघाउने प्रतिवद्धता जनाए ।
प्रधानाध्यापक घिमिरेले प्रतिवेदन प्रस्तुतिका क्रममा अलि वेसी नगरपालिकाको सहयोगको अपेक्षा गरेका थिए ।
विद्यालयले राखेको अपेक्षाका विषयमा केन्द्रित रहेर बोलेका नगरप्रमुख न्यौपानेले सीप सहितको ब्यवहारीक र आधुनिक शिक्षा अहिलेको आवश्यकता भएको बताएका उनले विद्यालयको पुर्वाधार बिकासलाई बातावरण अनुकुल र खर्चलाई मितब्ययी बनाउन गर्न सकिने बैकल्पिक पुर्वाधारका मोडलहरु अवलम्वन गर्न सुझाए ।
उनले कालिकाका विद्यार्थीहरुले प्रस्तुत गरेको सिर्जनात्मक प्रस्तुतिका विधामध्येको नाटक र भजन प्रस्तुतिले समाजको वास्तविकतालाई चित्रण गरेको महसुस भएको बताउँदै विद्यार्थीको सिर्जनात्मक प्रतिभालाई थप वढावा दिन ५० हजार उपलब्ध गराउने घोषणा गरे ।
वार्षिकोत्सवका अवसरमा शुभकामना भनाईका लागि उपस्थित भएका वडा नं. ९ का अध्यक्ष वलिराम सापकोटाले मञ्चीय समारोहलाई छोट्याउन परम्पराको थालनी गर्नुपर्ने सुझाव ब्यक्त गरे । उनले विद्यालयको अति आवश्यक क्षेत्र पहिचान गरी वडाले गर्न सक्ने लगानीमा कुनै कन्जुस्याई नगरेका जिकिर गरे । उनले शैक्षिक क्षेत्रको वृत्ति विकासका निम्ति अभिभावकको भूमिका अहम् हुने बताए ।
मञ्चीय समारोहमा विदाई सहितको सम्मान ग्रहण गरेका रेशम कोइरालाले विद्यालयमा प्रधानाध्यापक बनेर आउँदाको स्थिति र निवृत हुँदासम्मका महत्वपूर्ण क्षण, उपलब्धि र अवका अवसर तथा चुनौतीका बारेमा अनुभव सहितका धारणा राखेका थिए ।
समारोहमा स्थानीय संघसंस्था, शैक्षिक क्षेत्रका सरोकारवाला र सामाजिक क्षेत्रका प्रतिनिधिमूलक ब्यक्तित्वहरुले शैक्षिक क्षेत्रको गुणस्तर सुधार, विद्यार्थी–अभिभावक–शिक्षक÷कर्मचारीको त्रिपक्षीय सम्वन्ध, सामाजिक–सामुदायिक संघसंस्थाहरुको भूमिका सहितका सुझाव, टिप्पणी र अपेक्षा राखेका थिए । मञ्चीय समारोहको सहजीकरण शिक्षक बालकृष्ण अधिकारीले गरेका थिए ।