खगेन्द्र पराजुली, पुस २०, नवलपुर । नवलपुर मदिरा तथा प्रोभिजनल ब्यवसायी संघको चौथो साधारण सभा सम्पन्न भएको छ । गैंडाकोट १४ स्थित सुन्दरी सामुदायिक बनभित्र रहेको देउराली पिकनिक स्थलमा बनभोज सहितको साधारण सभा भएको हो ।
संघका अध्यक्ष रेशमलाल चापागाईको अध्यक्षतामा आयोजित सभामा मदिरा ब्यवसायी महासंघका केन्द्रीय सचिव यमबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
शुभकामना सहितको मन्तब्य राखेका केन्द्रीय सचिव गुरुङले अन्य ब्यवसायजस्तै मदिरा ब्यवसाय पनि मर्यादित पेशा भएको बताए ।
प्रदेशस्तरीय मदिरा ब्यवसाय महासंघ गण्डकीका अध्यक्ष गोविन्द केसीले छिमेकी देश भारतबाट ठूलो परिमाणमा अवैध रुपमा भित्रिने कमसल मदिरा, मदिरा ब्यवसायीलाई राज्यले गर्ने दोस्रो दर्जाको ब्यवहार, अब्यवहारिक र अबैज्ञानिक कर प्रणालीका कारण ब्यवसायीहरु चपेटामा परेको बताए ।
साधारण सभा समारोहको सञ्चालन गरेका संघका संघका महासचिव प्रभात न्यौपानेले गत चैतमा सम्पन्न तेस्रो साधारण सभापश्चात हालसम्म गरेका ब्यवसायीका हकहित अधिकारका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका गतिविधि सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । भने संघका अध्यक्ष रेशमलाल चापागाईले सघले सञ्चालन गर्दै आइरहेका ब्यवसायी लक्षित र सामाजिक क्रियाकलापलाई थप प्रभावकारी बनाउने खालका रचनात्मक र सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता सहित हाल रिक्त रहेको कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संघले यो अवधिमा सामाजिक क्षेत्र अन्तर्गत देवचुली ५ बन्दीपुरको धर्ती आधारभूत विद्यालयलाई विज्ञान शैक्षिक सामग्री हस्तान्तरण, कावासोतीमा रक्तदान कार्यक्रम गरेको छ ।
यस्तै, उपभोक्तामैत्री ब्यवसायिक सचेतना स्थापित गर्न विग्रेका, टुटेफुटेका र मिति सकिएका सामान उठाउने अभियान गरेको प्रतिवेदनमा उल्लेख छ भने जिल्लामा मदिरा ब्यवसायलाई थप मर्यादित–ब्यवस्थित, बैधानिक कारोबार सञ्चालन गर्न, ब्यवसाय गर्दा इजाजत पत्रको प्रक्रिया पूरा गर्न र कारोबार गर्दा बिल बिजक खाता दुरुस्त राख्ने जस्ता उद्योग–ब्यवसाय सञ्चालन सम्वन्धि कार्यविधि र मापदण्ड पालनालाई सहयोग र सचेतना जगाउने खालका निर्णय, पत्राचार सहितका गतिविधि गरेको जनाईएको छ ।
साधारण सभामा ब्यवसायी निकट छाता संघ–संस्थाका प्रतिनिधि, बस्तुगततर्फका प्रतिनिधि, चितवन नवलपरासी लगायत छिमेकी जिल्लाका मदिरा ब्यवसायी संघका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।