पिप्रहरमा माघी पर्वको अवसरमा स्ट्रीट फुड फेष्टिबल सहित विविध गतिविधि हुने

0 Shares

खगेन्द्र पराजुली, पुस २८, नवलपुर ।

पिप्रहरमा माघी पर्वको अवसरमा स्ट्रीट फुड फेष्टिबलको झल्को दिने ३ दिने मेला सोमबारदेखि शुरु हुदैछ । दोस्रो पिप्रहर माघी मेलाको ब्यानरमा हुने फेष्टिबलको मुख्य आकर्षण नै स्थानीय परम्परागत खानाका शाकाहारी, मांशहारी र मिष्ठान्न परिकारहरु हुने आयोजकले जनाएको छ ।

मेला आयोजक पिप्रहर सामुदायिक होमस्टे मेला सम्पादन मूल समितिका संयोजक रिमबहादुर आलेका अनुसार फरक-फरक जातजातिले आ-आफ्‌नै चलन अनुसार पर्वका रुपमा मनाउने माघे सक्रान्तिका रैथाने, मौलिक र परम्परागत खानाको संरक्षण-प्रवर्द्धन गर्दै पिप्रहरको खाना, पिप्रहरको आतिथ्यताको अनुभव दिलाउन, ब्राण्डिङ र प्रचार-प्रसारका लागि दोस्रो संस्करणको मेला आयोजना गरिएको बताए ।

सोमबार मंगलबार र बुधबार तिन दिन हुने माघी मेलामा सबै खालका आगन्तुक पाहुनाहरुको मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरुको साँगितिक साँस्कृतिक प्रस्तुति रहने छ । बहुसंख्यक थारु समुदायका मानिसहरुको बसोबास रहेको पिप्रहरको थारु संस्कृतिसँग सम्वन्धित मौलिक र परम्परागत भेषभूषा, बाजागाजा सहितको साँस्कृतिक कला प्रस्तुतिका साथै मगर, गुरुङसँग सम्वन्धित सास्कृतिक कला प्रस्तुति रहने आयोजक एवं मेला ब्यवस्थापन पक्षले जनाएको छ ।

मेलामा युवा लक्षित जिल्लास्तरीय भलिबल प्रतियोगिता, देवचुली नगरभित्रका माध्यमिक विद्यालयका विद्यार्थीबीचको एकल वा सामुहिक जुनसुकै विधामा अन्तर मावि नृत्य प्रतियोगिता र वडा नं. १६ र १७ का आमा समूहबीचको अन्तर आमा समूह लोकगीत प्रतियोगिता सञ्चालन गरिने पनि जनाईएको छ ।

मेलाकै अवसरमा पुग्नेहरुका लागि जंगलसफारीमा लाग्ने शुल्कमा २५ प्रतिसत छुट रहेको छ । करीव १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको मेलामा प्रवेश निशुल्क छ ।

सोमबार बिहान १० बजे फारम चोकदेखि स्थानीय सामुदायिक तथा निजी संघसंस्था, ब्यवसायिक संघसंस्था, आमा, युवा, टोल बिकास संस्था, संरक्षण, पर्यटन सम्वद्ध संघसंस्थाका आ-आफ्नै संस्थागत तथा जातिय पोशाक, स्थानीय साँस्कृतिक झाँकी-भेषभुषा र वाजागाजा सहितको शोभायात्रा निकालिने जनाईएको छ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालद्धारा समुद्घाटन हुने दोस्रो पिप्रहर माघी मेला २०८१ को ब्यवस्थापकीय तयारी पूरा भएको पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप