खगेन्द्र पराजुली, माघ २३, देवचुली । जनज्योति आदर्श बहुमुखी क्याम्पसको प्रमुखमा जयनारायण सापकोटा नियुक्त भएका छन् । देवचुली १० निवासी सापकोटालाई क्याम्पस प्रमुखको जिम्मेवारी सहित नियुक्ति दिईएको क्याम्पस सञ्चालक समितिले जनाएको छ ।
सोमबार सरस्वती पूजाको दिन पारेर हाजिर भएका नवनियुक्त क्याम्पस प्रमुख सापकोटालाई बुधबार एक कार्यक्रमका बीच क्याम्पसले स्वागत तथा जिम्मेवारी हस्तान्तरण गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष होमनाथ जैसीले बताए ।
वि.सं. २०५० साल भदौ १ गते शिक्षा सेवामा प्रवेश गरेका सापकोटाले ३१ वर्षभन्दा लामो शैक्षणिक अनुभव बटुलेका छन् ।
नव नियुक्त क्याम्पस प्रमुख सापकोटाले आफ्ना अनुभव, शिक्षा क्षेत्रका अग्रजहरुको रचनात्मक सहयोग र समन्वयलाई ग्रहण गर्दै गुणस्तरीय र प्रभावकारी शिक्षा प्रवाहमा प्रतिवद्ध रहने प्रतिवद्धता जनाएका छन् ।
तत्कालिन अवस्थामा प्रगतिनगर गाविस वडा नं. ५ हाल देवचुली नगरपालिका वडा नं. १४ को जनज्योति नमूना माविबाट सेवामा प्रवेश गरेका सापकोटासँग २०५३ साल बैशाख १४ गतेदेखि हालसम्म देवचुली १० स्थित पृथ्वी माविमा सेवा गरेका अनुभव छ ।
सापकोटाले २०७१ सालमा पृथ्वी माविको प्रधानाध्यापकको जिम्मेवारी पनि सम्हालेका थिए ।
एमए सम्मको योग्यता हासिल गरेका सापकोटा २०७८ सालमा नगर शिक्षा समिति देवचुलीको सदस्यमा मनोनित भएका थिए भने दोस्रो कार्यकालका रुपमा अहिले पनि सदस्यको भूमिकामा छन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष होमनाथ जैसीको अध्यक्षता तथा शिक्षा शाखा देवचुलीका प्रमुख रामप्रसाद शर्माको प्रमुख आतिथ्यतामा बुधबार नवनियुक्त क्याम्पस प्रमुखको स्वागत तथा पदभार ग्रहण कार्यक्रम भएको हो ।
निमित्त क्याम्पस प्रमुख पशुपति भटराईको स्वागत तथा प्राध्यापक सोम सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा वडाअध्यक्षद्वय शुरेशकुमार रानाभाट र रेप्तीकुमार घर्ती मगर, सञ्चालक समितिका निबर्तमान अध्यक्ष दयाराज तिवारी, क्याम्पस सल्लाहकार सदस्य डिल्लीराम कडरिया, सञ्चालक सदस्य सरस्वती तिमिल्सिना, प्राध्यापक शशिकुमार लम्साल र विद्यार्थीका तर्फबाट राजकुमार कण्डेलले धारणा राखेका थिए ।
मञ्चबाट बोलेका बक्ताहरुले क्याम्पसको स्थिति, विगतका अनुभव, अवको यात्रा र भविष्य, समस्या–चुनौती, अवसर र उपलब्धिका बारेमा संक्षिप्त धारणा सहित नवनियुक्त क्याम्पस प्रमुखबाट उपलब्धिमूलक कार्यसम्पादनको अपेक्षा र सकारात्मक सहयोग–समन्वय र सहकार्यको प्रतिवद्धता सहितका स्वागत, बधाई एव शुभकामना भनाई राखेका थिए ।
भिडियो समाचार लिङ्क हेर्नुहोस् ।