खगेन्द्र पराजुली, चैत ४, देवचुली । देवचुली नगरपालिकाले होटल व्यवसायीका लागि किचन सामग्री वितरण गरेको छ। देवचुली होटल व्यवसाय संघको समन्वयमा संघमा आवद्ध व्यवसायीले चक्कु, चोपिङ बोर्ड र एप्रोन लिएका हुन् ।
नगरपालिकाको व्यवसाय प्रवर्द्धन शिर्षकको दुई लाख रुपैंया वजेटमा २ सय जना व्यवसायी लक्षित सामग्री वितरण गरिएको समन्वयकारी संस्था होटल व्यवसाय संघ देवचुलीका अध्यक्ष लक्ष्मण चापागाईले स्पष्ट पारे।
सोमवार उद्योग वाणिज्य संघ देवचुलीको सभाहलमा संघका अध्यक्ष चापागाईको अध्यक्षतामा भएको सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रतिनिधिमूलक लाभग्राही व्यवसायीलाई सामग्री हस्तान्तरण गरे।
स्थानीय होटल व्यवसायी, व्यवसायीको संस्थागत नेतृत्व गरेका अगुवा-ब्यवसायी र निजी क्षेत्रसँग सम्बन्धित वस्तुगत तथा छाता संस्थाका प्रतिनिधि उपस्थित कार्यक्रममा वोलेका नगर प्रमुख न्यौपानेले समृद्ध देवचुली, निर्माणमा सबै खालका ब्यवसायीको महत्वपूर्ण योगदान रहने वताए ।
उनले व्यवसायी नगरपालिकाका, नगरपालिका व्यवसायीको भन्ने अभिप्रायका साथ व्यवसायिक लक्ष्य र उपलब्धिको गतिमा काम गर्न चाहेको वताए । देवचुली नगरपालिकाले संस्थागत रूपमा देखिएका व्यवसायभित्रका साझा समस्याको समाधानमा स्थानीय सरकारले गर्न सक्ने सम्मको पहलकदमी लिने आश्वासन दिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ देवचुलीका अध्यक्ष सूर्य प्रसाद दवाडी, होटल व्यवसाय महासंघका केन्द्रिय सदस्य शुरेस पाण्डे, होटल व्यवसाय संघ नवलपुरका अध्यक्ष सन्तोष राना लगायतले शुभकामना भनाई राखेका थिए।
बोलेका व्यवसायी प्रतिनिधिहरुले नगरपालिकाले व्यवसायी लक्षित प्रोत्साहनमा गरेको अभ्यास नमूना र अनुकरणीय कार्यक्रम भएको भन्दै प्रसंसा गरेका थिए ।.
होटल व्यवसाय संघ देवचुलीका सचिव खुमलाल भुर्तेलको सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भोजराज ज्ञवालीले कार्यक्रमको औचित्य, ब्यवसायीका समस्याको ध्यानाकर्षण सहित स्वागत मन्तब्य राखेका थिए ।